"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कतार र माल्दिभ्सको रोजगारी छोडेर गाउँमै रमेका बोहोरा

प्रकाशित मिति :  17 December, 2023 4:28 pm


बागलुङ । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहोरा ।

रोजगारीका सिलसिलामा केही वर्ष कतार र माल्दिभ्समा श्रम गरेका उनी हिजोआज भने गाउँमै कृषि व्यवसायमा रमाएका छन् । ‘पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन । अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ’, बोहोराले भने ।

बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुगे । त्यहाँ उनले भने जस्तो काम पाएनन् । कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्किए । त्यसपछि उनी माल्दिभ्स पुगे । त्यहाँ पनि तीन वर्ष काम गर्दा भने जस्तो पैसा जम्मा भएन ।

कतार र माल्दिभ्समा काम गरेपछि उनलाई काम खोज्दै अर्को देश जान मन लागेन । त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरे । ‘गाउँ फर्केर बाँझो जग्गामा व्यवसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ’, उनले भने, ‘माल्दिभ्समा कमाएको पैसा श्रीमतिलाई विदेश पठाउँदा खर्च भयो । श्रीमति फर्केर आइनन् । उतै घरजम गरिन । त्यसपछि फर्किर विदेश जान मलाई मनले दिएन । जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो ।’ त्यसपछि उनले दोस्रो विवाह गरे ।

श्रीमती र छोरासहितको तीन जनाको उनको परिवार अहिले कृषिमै निर्भर छ । भोजबहादुरले हाल छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलाएका छन् ।

उनको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन् । साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन् । ‘फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु’, उनले भने ।

‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’मार्फत उनले कृषि ज्ञान केन्द्र बागलुङबाट सात लाख रुपैयाँ अनुदान पाइसकेका छन् । ‘श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन्, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ’, उनले भने, ‘आम्दानी भइरहेकाले सजिलो भएको छ ।’

बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाएका छन् । स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफू जस्ता किसानलाई सहज हुने उनको भनाइ छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र