"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशबाट फर्किएका पूर्णबहादुर, रोल्पामा दूध बेचेर मासिक एक लाख ४० हजार आम्दानी

प्रकाशित मिति :  25 December, 2023 2:41 pm


रोल्पा । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन्। घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो। सुरुआतमा १६ लाख रुपैयाँ ऋण लिएर थालेको व्यवसायले राम्रो आम्दानी पनि दिएको छ। उनको जलजला कृषि तथा पशुपालन फार्म छ । 
 
नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक रोजगारीका क्रममा भोगेकोे अनुभव पनि उनीसँग छ। ‘विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न समस्या छैन,’ उनले भने,  ‘अरुको देशमा घण्टौं काम गर्छौं, कमाइ भएको पनि देख्छौँ, तर स्वदेशमा काम गर्दैनौँ कमाइ धेरै खोज्छौँ, जति कमाए पनि कमै हुन्छ।’ 

घर्तीमगरको परिवार स्वदेशमै केही गर्नुपर्छ भनेर रोल्पाबाट दाङ पशुपालनकै लागि झरेको हो। उनले राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख र छिमेकी लघुवित्तबाट छ लाख रुपैयाँ ऋण लिएर व्यवसाय थालेका हुन्। 

रोल्पामा यसअघि तरकारीखेती गरे पनि ढुवानी र बजारीकरणको समस्याले दाङ आएको उनले बताए। नेपाल प्रहरीमा हुँदा घर्तीमगर विसं २०५८ असार २८ गते रोल्पाको होलेरीमा माओवादीको आक्रमणमा परे। तीन महिना माओवादीकै कब्जामै रहेको र रिहाइपछि घर परिवारलाई दुःख दिन थालेकाले सरकारी जागिर छोड्न बाध्य भएको उनले बताए। घर्तीमगर जागिर छाडेपछि वैदेशिक रोजगारीमा पनि गए। त्यहाँ पनि सोचेअनुसारको कमाई नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंचका साथ पशुपालन व्यवसाय गरेको र आम्दानी पनि राम्रै भएको उनले बताए। 

‘बिहानैबाट भैँसीको स्याहारसुसार गरेर दूध बेच्न हिँड्छु,’ उनले भने।उनले भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुँने र आहारा तयार गर्ने काम गर्नुपर्छ। घर्तीमगरले मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन्। उनलाई घरपरिवारले पनि यसमा सहयोग गर्दै आएका छन्।

घर्तीमगरले दुई बिघा भाडाको जग्गामा पशुपालन व्यवसाय गर्दै आएका छन्। ४२ वर्षीय घर्तीमगरको फार्ममा २० वटा गाई, भैँसी तिनका पाडापाडी छन्। घर्तीमगरले दैनिक एक सय लिटर दूध बेच्ने गरेका छन्। जसबाट एक लाख ४० हजार आम्दानी गर्दै आउनुभएको छ भने मासिक बचत ५०/६० हजार गर्न सफल भएको उनको भनाइ छ। राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारण छ। 

आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार रोल्पाबाट दाङ आएको हो। उनले गाईभैँसीका लागि आवश्यक घाँस आफैँ उत्पादन गरेका छन्। तर पनि किसानले उत्पादन गरेको वस्तुले सहजरुपमा बजार नपाउने समस्या भने कायम रहेको उनी भन्छन्।  
 
सरकारी जागिर र वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका घर्तीमगर उदाहरण पात्र छन्। सरकारीस्तरबाट पाउनुपर्ने सेवासुविधाका बारेमा वास्तविक किसानलाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ। कहीँकतैबाट सहयोग नपाएको हुँदा र उत्पादित वस्तुको बजार ग्यारेन्टी नहुँदा कतिपय पशुपालन फार्म किसानले बन्द गर्न बाध्य भएको बताए।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर