"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

प्रकाशित मिति :  25 December, 2023 8:12 pm


तनहुँ ।  तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो। 

उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ। गत वर्ष पनि तीन करोड रुपैयाँबराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए। 

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उनको भनाइ थियो।  यस वर्ष ५५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गरेका थापाले भने ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ।’ उनका अनुसार सुरूका दिनमा थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन्। सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ। 

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन्। सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ। थापाले भने, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। लुङ्ग्रिङमा एउटै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ।’

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरु पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिए। उनले भने, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए।’

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाएका छन्। यस वर्ष दुई लाख ५० हजारको सुन्तला बेचिसकेको उल्लेख गर्दै उनले भने, ‘५० वटा बाख्रा पालेको छु। सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो।’ 

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रुपमा विकास भएको बताए
देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन्। नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो।

यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन्। 

गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न ३० लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर