"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थतन्त्रका सूचक निरन्तर ओरालो तर्फ, सुधारका संकेत न्यून

प्रकाशित मिति :  12 March, 2022 11:04 am


काठमाडौँ । ओरालो लागेका अर्थतन्त्रका सूचकमा सुधारको कुनै गुन्जायस देखिएको छैन । आईएमएफले पछिल्लो समय १३ अर्ब रुपैयाँ ऋण सुविधा प्रदान गरेकाले माघमा विदेशी मुद्रा सञ्चितिमा थोरै सुधार देखिए पनि अरू सबैजसो सूचकमा ओरालो उस्तै छ ।

विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहँदा आवश्यक सामग्रीको आयातमा दबाब सिर्जना भएको छ, जसले गर्दा राष्ट्र बैंकले पछिल्लो समय विभिन्न सामग्रीहरूको आयातमा कडाइ गरिरहेको छ । रेमिट्यान्स घटेको, पर्यटन आगमन शून्यप्रायः रहेको, वैदेशिक लगानीमा समेत उल्लेख्य सुधार नभएको र उच्च आयातका कारण व्यापार घाटाको अवस्था डरलाग्दो छ ।

माघ मसान्तसम्म ११ खर्ब ७३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर सञ्चिति थियो । अमेरिकी डलरमा ७ महिनामै यस्तो सञ्चिति १७ प्रतिशत घटेको छ । असार मसान्तमा सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तसम्म ९ अर्ब ७५ करोड डलर कायम भएको हो । आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा हाल रहेको सञ्चितिले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति) २ खर्ब ४७ अर्ब ३ करोड घाटामा छ । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई नै शोधनान्तर स्थितिले जनाउँछ । चालु खाता घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको माघमा १ खर्ब ४ अर्ब घाटा थियो ।

रेमिट्यान्सको गिरावट दर यथावत् छ । साउनदेखि माघ मसान्तसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत कम हो । गत वर्ष यस अवधिमा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

मुलुकको व्यापार घाटा डरलाग्दो छ । सात महिनामा कुल ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएकामा १ खर्ब ३१ अर्ब रुपैयाँको निर्यात भएको छ । यस आर्थिक वर्ष माघसम्म मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब छ । समीक्षा अवधिमा निर्यात ८८ प्रतिशत बढेको देखिन्छ भने आयात ४२.८ प्रतिशतले बढेको छ । सोयाबिन तथा पामको कच्चा तेल आयात गर्ने र नेपालमा प्रशोधन गरी फेरि निर्यात गरिँदा निर्यातको वृद्धिदर उच्च देखिएको हो ।

आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो १३.६ प्रतिशत छ । ७ महिनामा कुल १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । एक वर्षको समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात रकमका आधारमा ९३.६ प्रतिशत बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले यसको आयात रकम आगामी महिनामा अझै बढ्ने सम्भावना छ ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा