"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम- २ : कांग्रेसको अझै टुङगिएन उम्मेदवार, माओवादीले एमालेलाई समर्थन गर्ने

प्रकाशित मिति :  4 April, 2024 1:40 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले इलाम क्षेत्र नम्बर २ मा पार्टीबाट उम्मेदवार आकांक्षीहरूसँग छलफल गरेका छन्। उम्मेदवार सिफारिस भएकाहरूसँग सभापति देउवासहित पदाधिकारीले बूढानीलकण्ठमा बिहीबार बिहान छलफल गरेका हुन्।

इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।

उम्मेदवार सिफारिस भएकाहरूले सभापति देउवासहित पदाधिकारीलाई सर्वसम्मतिमै एक जनालाई उम्मेदवार बनाउन आग्रह गरेका छन्। पार्टी एकढिक्का रहे मात्र चुनाव जित्न सहज हुने उनीहरूको भनाइ थियो। उनीहरूले उम्मेदवार आकांक्षी एकअर्कालाई समर्थन भने गरेका थिएनन्, आफू नै योग्य भएको दाबी पेस गरेको एक पदाधिकारीले जानकारी दिए।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने बताए। बुधबारको बैठकमा सभापति इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका थिए। सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।

इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

माओवादीका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं,’ माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् । नेपाली कांग्रेसले भने हाल सम्म उम्मेदवार घोषणा गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका