"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पैसा लुकाएर तरलताको अभाव सृजना गर्ने प्रवृत्ति हावी भयो : अर्थमन्त्री

प्रकाशित मिति :  ४ चैत्र २०७८, शुक्रबार १८:३६


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन् । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताएका छन् ।
शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । ‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’


पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले भने । बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने बिश्वास व्यक्त गरेकाछन् ।
उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य बस्तु, खानेतेल, प्लास्टिकलगायतको मुल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ’ उनले भने, ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’
उनले पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै चाँडै अर्थतन्त्र लयमा आउने विश्वास पनि दिलाए । रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।
नागरिक लगानी कोषलाई धेरे भन्दा धेरै पुुँँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न उनले निर्देशन दिएका छन् ।







प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक