"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ढाका उद्यममा प्यारीमाया

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १८:१९


झापा – पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् ।

हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’

बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको उनी बताउँछिन् । ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेको उनी बताउँछिन् ।

उनले घरकै छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाउँदै आएकी छन् । ‘वार्षिक चार लाखभन्दा बढी रकम मुनाफा हुन्छ,’ उनले भनिन्, ‘तीनजना बहिनीलाई काम पनि दिएको छु, यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो ।’

घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उनले बताइन् । उनले भनिन्, ‘साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग विताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो ।’

उनको एपिएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको प्यारीमाया बताउँछिन् ।

ढाका उद्यमको सुरुआत

विसं २०६१ तिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिएकी प्यारीमायाले त्यहीबाट पाँच हजारमा तान किनेर ल्याई आफ्नै घरमा ढाकाको काम सुरु गरेकी हुन् ।

‘सुरु समयमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु हुन्छ । दुवैजना मिलेर विस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षएसम्म साझेदारीमा काम गरेँ । पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन । त्यहीबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौं,’ प्यारीमायाले भनिन् ।

विसं २०६५ तिर घरबाट अनमी पढ्नुपर्छ भन्ने कुरा उठेपछि मैले पढ्ने सोच बनाएको प्यारीमायाले बताइन् । चार वर्षमा खर्च कटाएर दुवैजनालाई दुई लाख र चारवटा तान भागमा पर्‍यो । आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडौं गएको प्यारीमाया बताउँछिन् ।

उनका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैंले ढाकाको काम गर्दा बचत भएको पैसाबाट पूर्ति भयो ।

अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो । बिहेपश्चात कन्काई अस्पतालमा प्यारीमायाले जागिर सुरु गरिन् । तर त्यसबाट सन्तुष्ट हुन नसकिएको उनी बताउँछिन् । ‘बिहानदेखि सँझसम्म काम गर्‍यो, आवतजावत गर्न बसभाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक-दुई हजारमात्र बचत हुनथाल्यो । घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेशामा फर्र्किनुपरेको हो’, प्यारीमायाले भनिन् ।

आफैंले घरमा राखेको एउटा तानबाट फेरि काम सुरु गरेकी प्यारीमायाले घरेलु, स्थानीय पालिकाअन्तर्गत लघुउद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको बताइन् ।

विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ । यो काममा मेरा श्रीमान्को पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ । उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउँछिन् ।

घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै प्यारीमाया प्रश्न गरिन । आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउँछिन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

बागलुङ – बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ। चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन

काठमाडौँ- लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका