"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल-भारत सैनिक सहकार्य वार्ता सम्पन्न, सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान

प्रकाशित मिति :  21 November, 2024 3:46 pm


काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए। सो क्रममा भारतीय स्थल सेनाध्यक्षले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ। गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो। भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ। यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए।

त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ। प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका थिए।

सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह र खड्ग प्रदान गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत सहभागी रहेका थिए। नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए। उनी प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी