"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौँमा रविको बयान सकियो, फेरी पोखरा फर्काउने तयारी

प्रकाशित मिति :  2 December, 2024 10:03 pm


काठमाडौँ – पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार काठमाडौँमा बयान सकिएको छ। बयान सकिएपछि अब उनलाई मंगलबार पोखरा फर्काउने तयारी छ। उनको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले चार दिनसम्म बयान लिएको हो।

कास्की प्रहरी हिरासतमा रहेकै बेला काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनलाई १३ मंसिरमा काठमाडौँ लगिएको थियो।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर उक्त रकम खर्च गर्न लामिछानेको संलग्नता रहेको आरोप छ। स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जीबी राईको नाममा दुईपटक ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ। लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको दाबी छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका उनलाई कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा पनि बयानका लागि रुपन्देही सरकारी वकिल कार्यालय लगिएको थियो। उनीमाथि चितवनको सहारा सहकारी, वीरगञ्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोप छ। उनलाई पोखरा फर्काएर चितवनमा बयानका लागि लगिने जनाइएको छ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन, चौथोपटक १३ दिन र पाँचौँपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भएको हो। गत ९ मंसिर (आइतबार) मा उनलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो।

न्यायाधीश बेल्वासेको इजलासले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो।

गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ।

यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन्। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। सो बमोजिम ७० दिन पूरा भएको छ। गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको समेत छवि जोशी पक्राउ गरेको ६ असोजलाई पहिलो दिन मानेर म्याद मिलान भएको उनले बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी