"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हाम्रा पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुगेको छ : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  15 December, 2024 1:04 pm


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरेका छन् ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भनेका छन्, ‘यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।’

प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उनको भनाइ छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी