"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जयनगर–जनकपुर रेल सञ्चालनमा

प्रकाशित मिति :  1 April, 2022 9:29 pm


काठमाडौँ । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक रुपमा सञ्चालन गरिँदै छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताएका छन् । उद्घाटनपछि जयनगरबाट कुर्थाका लागि रेल गुड्ने बताइएको छ । उनका अनुसार औपचारिक उद्घाटनपछि रेल नियमित रुपमा चल्ने छ ।

रेल नियमित रुपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जान चाहने यात्रु र भारतबाट नेपाल आउने यात्रुका लागि पहिचान खुल्ने परिचय पत्र अनिवार्य लिएर हिँड्न रेलवे कम्पनीले जनाएको छ । रेकर्ड राख्न सजिलो हुने भएकाले परिचय पत्र लिएर हिँड्न यात्रुलाई आग्रह गरिएको महाप्रबन्धक झाले बताए । ‘दुई देश बीचको सहमतिमा पनि यी कुराहरु उल्लेख गरिएको छ,’ महाप्रबन्धक झाले भने ,‘भारतबाट नेपाल आउने यात्रुले पनि आफ्नो पहिचान खुल्ने परिचय पत्र बोक्नु पर्ने छ ।’

नेपालको भूमिसम्म जान भने कुनै परिचय पत्र आवश्यक पर्दैन । अहिले दुईवटा रेल सेटमध्ये एउटा मात्र चलाइने उनको भनाइ छ । दिनको दुईपटक जयनगरबाट रेल खुल्ने छ र कुर्थासम्मको ३५ किमि दूरीसम्म पुग्ने छ । ‘धनुषाको ग्रामीण भेगलाई मध्यनजर गर्दै रेल चलाउन लागिएको हो,’ झाले भने, ‘त्यसमा एउटा सेट चल्नेछ,अर्को जगेडामा राखिने छ ।’

दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाइने उनले जानकारी दिए । ‘दुवै रेल चलाउन थप अर्को रेल सेटको आवश्यक छ,’ उनले भने । नियमित मर्मत गरी राख्नुपर्ने भएकाले एउटा मात्र रेल चलाउन लागिएको हो । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने उनको भनाइ छ ।

रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको उनले जानकारी दिए ।

एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ । रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् । पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए ।

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । गत फागुन १ बाट ‘ड्राई रन’ थालिएको हो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौं –  सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न

काठमाडौँ – सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै व्यापक नीतिगत,

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै