"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड कृषि अनुदान रकम वितरण

प्रकाशित मिति :  12 January, 2025 11:39 pm


काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ। मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन्।

५ वर्षमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन्। त्यसमध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड रहेको छ। अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए।

मन्त्री अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताए।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लैजानेहरूको नाम सार्वजनिक गरिएको जनाउँदै मन्त्री अधिकारीले अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न पनि आग्रह गरे। ‘मन्त्रालयबाट लगिएका र दिइएका अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौं,’ उनले भने,‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुन्छ र हुनुपर्दछ।’ मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश र स्थानीय सरकारबाट वितरण गरिएका अनुदान रकम नपर्ने उनले जानकारी दिए।

कुन कार्यक्रम बापत कति अनुदान गयो?

कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ। उक्त रकम १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले लगेको कृषि मन्त्री अधिकारीले जानकारी दिए।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ भने त्यसबाट २१ हजार ४ सय ५० कृषि सहकारी, समूह, फर्महरूले रकम लगेका छन्।

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख रुपैयाँ रकम प्रवाह भएको छ भने त्यस कार्यक्रममार्फत २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेका छन्।

नेपाल लाइभस्टक इनोभेसन आयोजनाबाट १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ। त्यसबाट ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूलाई रकम वितरण भएको मन्त्रालयले जनाएको छ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ। ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूमा रकम वितरण भको छ।

उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ यसबिचमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए। त्यस्तै, कृषि बिमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिए।

यस अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन्। जसमा जम्मा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रहेको छ। त्यसमध्ये प्रत्यक्षतर्फ (मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान) १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ रहेको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी