राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्न आग्रह गरेका हुन् ।
‘नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो । राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरूले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको हुँदा यस कार्यक्रमको महत्व मैले मनन गरेको छु, सबैलाई मनन गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विपद्को उच्च जोखिम भएको नेपालमा विपत्तिका समयमा परिचालन गर्नसक्ने तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको बताए ।













