"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीको राजीनामा माग गर्नु पूर्वाग्रहपूर्ण, निराधार र अनुचित : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  31 May, 2025 10:55 am


१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन् ।

गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्था‍मा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताए ।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए । गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।

‘गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन । यो कुनै मुद्दा मामिला पनि भएको छैन । यो कुनै इस्यु होइन । गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न,’ प्रधानमन्त्रीले भने ।

प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको प्रधानमन्त्रीको भनाइ थियो । एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको उनले बताए ।

‘विपक्षी तर्कहीन भएर हैन, साह्रै गम्भीर विषय बनेछ । मानिलिऊ कि ३५ किलो सुन ओसारेछ जस्तै हल्ला ! यो त साह्रै गम्भीर विषय हो ? गृह मातहतको कर्मचरीलाई अख्तियारले बोलाएर सोध्यो, यो त गृहमन्त्रीले राजीनामा दिनैपर्‍यो नि ! अख्तियारले किन सोध्यो ? के सोध्यो ? थाहा छैन,’ उनले भने । कर्मचारी आफ्नो कामप्रति स्वयं जिम्मेवार हुनुपर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।

विपक्षी दलहरूले संसद्‌मा आधारहीन माग गरिरहेको ‌ओलीको भनाइ थियो । ‘अस्तित्व प्रकट गर्न यति कमजोर भइसक्नुभयो ? राजनीतिक पार्टी कि अस्तित्व देखाउनका लागि कुनै आधार नभए पनि चिच्याइहाल्नुपर्ने ? त्यसो त यसमा म कुनै आधार देख्दिनँ,’ उनले भने, ‘कुनै ठूलो महानुभावले पनि यो त राजीनामा दिनैपर्ने विषय हो, राजीनामा नगराई सकिँदैन, यो बटम लाइन हो । यो बटमलाइन पूरा हुन्छ त ?,’ प्रधानमन्त्रीले स्पष्ट पारे, ‘म तपाईंहरूलाई भन्दिनँ चाहन्छु झोला किन्देऊ भन्दा किनिदिन सकिन्छ । हात्ती किनिदेऊ भन्दा अलि महँगो पर्ला किनिदिन सकिन्छ । अब झोला थापेर हात्ती हालिदे, हात्ती हालिदे ! तपाईंको छोरालाई जति माया गर्नुस् हात्ती झोलामा हाल्न सक्नुहुन्न । त्यसकारण तपाईंले गुडिया हात्ती नै खोज्या हो भने त हाल्दिउँला तर रियल हात्ती अँट्छ र ? यसरकारण यस्तो असम्भव माग गर्नु हुँदैन ।’

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष