सुशासनमैत्री चुनावको अपरिहार्यता

स्थानीय सरकार नागरिकको नजिकको सम्पूर्ण भरोसा, सुशासन र समुन्नतिको प्रारम्भीक विन्दु हो । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । लाखौँ मतदाताको सहभागिताका लागि तयारी पनि बृहत तरिकाले नै हुनुपर्छ, हुँदैछ । निर्वाचनको तापमान बढ्दैछ । लोकतन्त्रको जग मानिने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग, सरकार, राजनीतिक दललगायत सबैले आआफ्नो तहबाट आवश्यक तयारी उत्साहप्रद तवरबाट भइरहेको छ ।
लोकतान्त्रिक पद्धतिको सुदृढीकरणमा स्थानीय तहलाई पारदर्शी र जवाफदेही बनाउन निर्वाचनलाई सुशासनमैत्री बनाउनु जरुरी छ । निर्वाचन खर्चिलो हुदै गईरहेको भन्ने आमजनगुनासोलाई निर्वाचन आयोग, सरोकारवार निकाय, पर्यवेक्षण तथा अनुगमन निकाय साथै राजनीतिक दल जिम्मेवार हुनुपर्दछ भने आममतदाता सचेत रहनुपर्दछ । स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नु सबैको दाहित्व पनि हो ।
नेपाली जनता लोकतन्त्र सुदृढ गर्ने यो आवधिक निर्वाचनमा बढो उत्साह देखिन थालेको छ । स्थानीय निर्वाचनका सम्बन्धमा देशभर देखिएको उत्साह एवं उमङ्गले यही सत्यतर्फ सङ्केत गरिरहेको प्रतीत हुन्छ । सही प्रतिनिधिको निर्वाचनले विकास निर्माण तथा सुशासनमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य चेतनशील नागरिकका बीच हुने बसह आफैँमा महत्वपूर्ण छ ।
मुलुकभरिका ७५३ स्थानीय स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका गरी विभिन्न ३५ हजार २२१ पदको निर्वाचन हुनेछ । यस निर्वाचनमा मुलुकका सबै ठूला राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल, साना दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी परेबाट यस निर्वाचनप्रति दल तथा आमजनताको चासो प्रष्ट पार्छ ।
लोकतान्त्रिक निर्वाचनका यी आधारभूत कार्यहरू सम्पन्न भइसकेपछि निष्पक्ष, तटस्थ, धाँधलीरहित एवं सुरक्षित तवरले मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सिर्जनाको प्रत्याभूति गरिनु सरकारको दायित्व हो । आफ्नो कर्तव्य एवं दायित्व निर्वाहमा सरकारका सबै अङ्ग पूर्ण रुपेण सफल हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
विभिन्न सम्बद्ध पक्षको तयारीपछि निर्वाचनमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी नागरिकको हो । जनताले निर्वाचनका माध्यमबाट योग्य तथा सक्षम उम्मेदवारलाई विजयी गराएर आफ्नो गाउँठाउँको विकास गराउनु मुख्य कार्य हो । यस्तो सामूहिक भावनाको उद्देश्य प्राप्तिका लागि मतदाताले आर्थिक वा अन्य किसिमका लोभलालचमा नलागी निष्पक्ष एवं इमानदार ढङ्गबाट आफ्नो लोकतान्त्रिक अधिकारको अभ्यास गर्नुको विकल्प पनि देखिँदैन । प्रजातान्त्रिक व्यवस्था नै त्यस्तो व्यवस्था हो जसमा जनता नै सर्वेसर्वा रहन्छन् । नागरिक स्वयं भाग्य निर्मातासमेत हुन् ।
यसैले यस्तो अवसरको सदुपयोगबाट कुनै पनि नागरिक चुक्नु हुँदैन । यस्तो अवसर सदुपयोगका लागि आफूले सक्दो सहयोग गर्नु आमनागरिकको पनि कर्तव्य अनि दायित्व हुन आउँछ । असल जनप्रतिनिधि विकासका संवाहक हुन् । त्यसैले यो निर्वाचन सुशासन र समुन्नति सहित सकारात्मक रुपान्तरणको निम्ति सुनौलो अवसर पनि हो ।