"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापानलाई पराजित गर्दै नेपालले सुपर ६ मा

प्रकाशित मिति :  10 October, 2025 10:57 pm


काठमाडौँ–  आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।  ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।  कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए। तर गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए। गुल्सनले १ चौका र २ छक्का प्रहार गरे। 

बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो। जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो। 

१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो। अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो।  १३औं ओभरको चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो। 

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए। गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए। पहिलो दुई ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो दुई ओभरमा किफायती बलिङ गरेका थिए। उनले ४ ओभरमा २५ रन दिए।

नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए। दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। आजको जितसँगै नेपालले सुपर-६ मा दुई अंक जोडेको छ। अब नेपालले सुपर-६ मा अरू चार टोलीसँग खेल्नेछ। युएई र कतारले सुपर-६ मा स्थान पक्का गर्दा बाँकी दुई टोली आज राति ओमान र पिएनजीबीच हुने खेलपछि टुंगो लाग्नेछ।

छ टोलीबीच हुने सुपर-६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा

काठमाडौँ – मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ मा नेपालले भारतलाई पराजित गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार खेलमा नेपालले भारतलाई टाइब्रेकरमा हराएको

काठमाडौं – नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।  सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१