"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साम्बाको सानदार दुई गोलमा भारतविरूद्ध नेपालको जित

प्रकाशित मिति :  28 October, 2025 4:32 pm


काठमाडौं – नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।  सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो।  नेपालको जितमा दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। 

साम्बाले ६३ मिनेटमा अग्रता दोब्बर पारेकी थिइन्। उनले डिबक्स बाहिरबाट हानेको फ्रिकिकले सिधै गोलपोस्टको दिशा लिएको थियो। यससँगै साम्बाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६६ पुर्‍याएकी छन्। भारतले ८१ मिनेटमा गोल फर्कायो। उसका लागि करिश्मा सिर्भोइकरले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। 

फिफा विन्डोमा भएको  यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ।  खेलका लागि नेपाली टोलीमा तीन परिवर्तन गरिएको थियो। अघिल्लो खेल खेलका गोलकिपर अन्जिला तुम्बापो सुब्बा, डिफेन्डर हिराकुमार भुजेल र निशा थोकर आजको खेलको पहिलो रोजाइमा थिएनन्। आज अन्जना रानामगर, मनमाया दमाई र दीपा शाही पहिलो रोजाइमा परेका थिए। 

यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो। भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको थियो। भारतले यसअघि इरानसँग २-१ को हार ब्यहोरेको थियो। जसका कारण तीन देशबीचको यो सिरिजमा इरान पहिलो हुँदा नेपाल दोस्रो भयो। अब नेपालले भारतसँग सिक्किममा कात्तिक १३ गते प्रतिस्पर्धा गर्नेछ। यद्यपी सो खेललाई अन्तर्राष्ट्रिय मान्यता हुनेछैन।

नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा गरेको हो। एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए। सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले विजयी भएको थियो। सो खेलमा पनि सावित्राले नै नेपालका लागि बराबरी गरेकी थिइन्।

नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट