सुदूरमाथि सानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ। शनिबारको भएको खेलमा अपराजित रहेको सुदूरपश्चिले दिएको १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
चितवनलाई रनरेटमा पछि पार्दै विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो । योसँगै सुदूरपश्चिमले पहिलो हार चाखेको छ।
विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे। फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए। मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे। बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए। विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए।













