"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गठबन्धनको समझदारी कायम राख्ने तीन नेताबीच सहमति

प्रकाशित मिति :  २० माघ २०७८, बिहीबार १२:५५


२० माघ, काठमाडौं । सत्ता गठबन्धनका तीन नेताबीच गठबन्धन बलियो बनाउने र अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता ‘एमसिसी’ संसदबाट पास गर्न उपाय खोज्ने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बुधबार दिउँसो र साँझ गरी दुई चरणमा बालुवाटारमा छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले वर्तमान सत्ता गठबन्धनलाई संसदीय चुनावसम्मै लैजान आफू प्रतिबद्ध रहेकोमा आश्वस्त गराएको गठबन्धनका एक नेताले बताए।

देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसँग तीन साताअघि भएको भेटमा सत्ता गठबन्धन तोड्नेबारे कुरा भएको भनी मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको पनि बताएका थिए।

संसदमा जारी एमालेको अवरोध खुलाउनेबारे छलफल गर्न गठबन्धन दलका नेताहरूकै सुझावमा प्रधानमन्त्री देउवा पुस २४ गते ओली निवास बालकोट पुगेका थिए। आफूले उक्त भेटमा संसद अवरोधबारे मात्र कुरा गरेको भन्दै देउवाले वर्तमान सत्ता गठबन्धनप्रति प्रतिबद्धता जाहेर गरेको पनि गठबन्धनका ती नेताले जानकारी दिए।

गठबन्धनप्रति प्रतिबद्धता जाहेर गरेपछि उनले एमसिसी संसदमा टेबल गर्न र सम्भव भएसम्म पास गर्न दुई नेताको सहयोग मागेका थिए।

गठबन्धनका ती नेताका अनुसार एमसिसीबारे उपाय खोज्ने सहमतिका साथ दिउँसोको बैठक सकिएको थियो।

बैठकलगत्तै अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका नेता नेपालले पाँचदलीय गठबन्धन नटुट्ने बताएका थिए।

‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन्,’ उनले भने, ‘गठबन्धन टुट्दैन।’

केही समयअघि बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूबीच छलफल भएको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।

‘हामीले पाँचदलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,’ नेपालले भने, ‘यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन।’

एमसिसीको निकासबारे उपाय खोज्न साँझ फेरि तीन दलका शीर्ष नेता बालुवाटारमा बसे।

‘विभिन्न उपायबारे छलफल भएको छ। हामी एमसिसीमा सहमतिमा पुग्छौं,’ बैठकपछि एक नेताले सेतोपाटीसँग भने, ‘एमसिसी फिर्ता पठाउन नहुनेमा तीन नेताबीच सहमति जुटेको छ।’

कुन आधारमा सहमति जुट्न लागेको भन्नेबारे उनले केही बताउन चाहेनन्। अर्का एक नेताले भने आवश्यक परे संसदको बैठक फेरि पछाडि सारेर भए पनि सहमतिका विकल्पको खोजी हुने बताए।

‘यो गठबन्धन विशिष्ट परिस्थितिमा निर्माण भएकाले यसलाई निरन्तरता दिन नेताहरू एक हुनुहुन्छ,’ उनले भने, ‘एमसिसीबारे निकास खोज्न पनि सहमति जुटेको छ।’ कस्ता उपाय खोज्ने भन्नेबारे उनले केही बताएनन्।

यसअघि माघ १६ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीनै दलका शीर्ष नेता र एमसिसीबारे अध्ययन गर्न गठित समितिका सदस्यहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिच एमसिसीबारे छलफल भएको थियो।

प्रधानमन्त्रीले संसदबाट एमसिसी तुरून्तै पास गरेर जानुपर्ने प्रस्ताव राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले यथास्थितिमा एमसिसी पास गरेर जान नसकिने अडान लिएका थिए।

लामो समयको प्रयत्नपछि पनि गठबन्धन दलका नेताहरूको साथ नपाएपछि प्रधानमन्त्री देउवा क्रूद्ध बनेका थिए।

आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसी पास गर्नेबारे केही महिनाअघि अमेरिकालाई पत्र लेखेको भए पनि उनी त्यसबाट पछि हट्न खोजेको भन्दै देउवा रिसाएका थिए।

एमसिसी पास गर्नेबारे गम्भीरतापूर्वक सोच्न भन्दै प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र पूर्णबहादुर खड्का र सञ्चारमन्त्री कार्कीलाई सोमबार प्रचण्डकहाँ छुट्टाछुट्टै पठाएका थिए।

एमसिसी संसदबाट पास गर्नेमा प्रधानमन्त्री देउवा गम्भीर रहेको र त्यसको गाम्भीर्य सत्ता गठबन्धन दलहरूले बुझ्नुपर्ने खड्का र कार्कीले प्रचण्डलाई भनेका थिए।

एमसिसी पास नगर्ने भए त्यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयतामा ह्रास आउने र भविष्यमा विदेशी सहयोग परिचालन गर्न कठिन पर्ने उनीहरूले बताएका थिए। एमसिसी अगाडि नबढ्ने भए सत्ता गठबन्धन अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनीहरूले प्रचण्डलाई सचेत गराएका थिए।

त्यसपछि बुधबार दिउँसो र साँझ गरेर गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा