"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई पठायो १५ बुँदे प्रस्ताव

प्रकाशित मिति :  26 March, 2026 12:34 pm


काठमाडौँ –  अमेरिका-इसराइल र इरानबीच झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि पहल भइरहेको छ। फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाध दिनमै इरानलाई घुँडा टेकाउने दाबी गरेको भए पनि महिना दिन पुग्न लाग्दासमेत मध्यपूर्वको तनाव मत्थर भएको छैन।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ। उक्त प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम समृद्धिका कार्यक्रमहरू रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई इरानले दिँदै आएको सहयोग कटौती गर्ने जस्ता सर्तहरू समावेश रहेको भनेर रोयटर्सले इसराइली क्याबिनेट स्रोतलाई उद्धृत गरी लेखेको छ।

ह्वाइट हाउसबाटै उक्त प्रस्ताव भने सार्वजनिक भएको छैन। बरू सम्झौताका लागि इरानले अस्वीकार गरे आक्रमण अझै तीव्र पार्ने चेतावनी दिएको छ। इरानले ती प्रस्तावहरू अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ। ती प्रस्तावहरू इजिप्ट र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत पठाइएको भनेर अर्को अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले अमेरिकी प्रस्तावहरूमाथि अध्ययन भइरहेको तर प्रत्यक्ष वार्तामा बस्ने कुनै योजना नरहेको बताएका छन्। सरकारी टेलिभिजनसँगको कुराकानीमा अरागचीले मध्यस्थकर्तामार्फत युद्धरत दुई पक्षबीच सन्देश आदान-प्रदान भइरहेको बताएका हुन्। तर सन्देश आदान प्रदान हुनुलाई अमेरिकासँग वार्ता भइरहेको भनेर अर्थ्याउनु गलत हुने पनि उनले बताएका छन्।

‘उनीहरूले आफ्ना प्रस्ताव पठाएका छन्। ती उच्च तहमा पुगेका छन्, आवश्यक परे आधिकारिक धारणा सार्वजनिक गरिनेछ,’ विदेशमन्त्री अरागचीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ। इरानले कुनै पनि सम्झौतामा लेबननलाई पनि समेट्नुपर्ने अडान दोहोर्‍याएको छ। खामेनीको हत्यापछि लेबननबाट इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इसराइलमा हवाई हमला गरेको थियो।

त्यसको जबाफमा इसराइल र अमेरिकाले लेबननमा हमला गर्दा सैयौंको मृत्यु र लाखौं विस्थापित भएका छन्। भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। त्यसकारण इरानले लेबननलाई पनि सम्झौतामा समेट्नुपर्ने  अडान लिएको छ। आगामी दिनमा हिजबुल्लाह विरूद्धको आक्रमण नहुने प्रतिबद्धता पनि उसले इसराइल र अमेरिकाबाट चाहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान वार्ताका लागि इच्छुक रहेको दाबी गरेका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इरानी नेतृत्व सम्झौता गर्न चाहेको तर आन्तरिक दबाबका कारण खुला रूपमा स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।

अमेरिकी प्रस्तावहरू इरानले स्वीकार गर्छ भन्ने इसराइलले पनि शंका व्यक्त गरेको छ। त्यसकारण आवश्यकता अनुसार सैन्य कारबाही गर्ने विकल्प सुरक्षित राख्नुपर्न उसको शर्त छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले भने इरानले अमेरिकी प्रस्ताव अस्वीकार गर्दै आफ्नै प्रस्ताव अघि सारिसकेको भन‍ेर लेखेको छ। 

अमेरिकाले प्रस्ताव पठाएकै दिन इरानले इसराइल र अरू खाडी मुलुकमा आक्रमण तीव्र पारेको भनिएको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा इन्धन ट्यांकमा इरानले हवाई हमला गर्दा त्यहाँ आगलागी भएको एपीले जनाएको छ।

इरानले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले जनाएको छ।

त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ। इरानको सत्तामा पछिल्लो समय  इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजिसी) झन् धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको हो।

इरानका माग हास्यस्पद र सम्बोधन गर्न नसकिने भएको वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिएको पनि जर्नलले लेखेको छ। इरानले ४८ घन्टाभित्र ‘स्ट्रेट अफ हर्मुज’ नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) प्रमुख ब्राड कूपरले  इरानभित्र १० हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ। उनले इरानका ९२ प्रतिशत ठूला नौसैनिक जहाज नष्ट भइसकेको र ड्रोन तथा मिसाइल प्रक्षेपण दर ९० प्रतिशतभन्दा बढी घटेको दाबी गरेका छन्।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ