चीनमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भव्य स्वागत
काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर अघि बढ्नु पर्ने प्रस्ताव गरेका छन् ।
ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुनै समस्या हुँदा मिलेर समाधान गर्ने गरेको बताएका थिए । उनले दुई देशबीच फोनमार्फत पनि समस्यामा समाधान भएको सुनाए । ट्रम्पले सिको प्रशंसा गर्दै एक महान नेता भएको बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले भने, ‘यो भ्रमणमा ‘विश्वका उत्कृष्ट व्यापारिक नेताहरू’लाई सँगै ल्याएको छु, शीर्ष व्यक्तिहरू मात्र तपाईंलाई सम्मान गर्न आएका छन् ।’
ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अब पहिलेभन्दा अझ राम्रो हुने बताए । यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘हामी प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्छ । हामीले एकअर्काको सफलता र समृद्धिमा योगदान पुर्याउनुपर्छ र नयाँ युगमा प्रमुख देशहरू बीचको पारस्परिक सम्बन्धको लागि सही बाटो खोज्नुपर्छ।’
उनले चीन–अमेरिका सम्बन्धको महान जहाजलाई सही दिशामा अगाडि बढाउन र २०२६ लाई सम्बन्धमा नयाँ अध्याय खोल्ने ऐतिहासिक वर्ष बनाउन ट्रम्पसँग छलफल गर्न र सँगै काम गर्न तत्पर रहेको बताए ।
उनले भने, ‘सम्पूर्ण विश्वले हाम्रो बैठकलाई हेरिरहेको छ । विश्वले हाल विगत सय वर्षमा नदेखिएका द्रुत परिवर्तनहरू अनुभव गरिरहेको छ, र अन्तर्राष्ट्रिय परिस्थिति निरन्तर परिवर्तनशील र अस्थिर छ।’













