अमेरिका र साउदी अरबबीच आणविक सम्झौता
एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको हो।
यो सम्झौताले अब साउदी अरबलाई आफ्नै आणविक रियाक्टरका लागि इन्धन उत्पादन गर्न सक्ने बाटो खोल्न सक्नेछ। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले नागरिक आणविक ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
दुवै पक्षले आणविक सुरक्षा मापदण्डसम्बन्धी द्विपक्षीय सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। सम्झौताले आणविक सुरक्षा र प्रसार रोकथामका उच्चतम मापदण्ड कायम राख्ने राइटले बताएका छन्। अमेरिकी प्रविधि र वैज्ञानिकहरूको सहयोगमा साउदीको नागरिक आणविक कार्यक्रम अघि बढाइनेछ।
यो सम्झौता अमेरिकी संसद् कांग्रेसको समीक्षामा जानेछ। कंग्रेसमा रिपब्लिकनकै बहुमत भएका कारण संसदबाट यो सम्झौता पारित हुने निश्चित रहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ। सम्झौताको एउटा महत्वपूर्ण पक्ष भनेको साउदीलाई आफ्नै भूमिमा युरेनियम संबर्द्धन, समृद्धीकरण वा प्लुटोनियम पुनःप्रशोधन गर्न अनुमति दिन सकिने सम्भावना हो।
अधिकारीहरूका अनुसार त्यसअघि अमेरिका र साउदीले आणविक इन्धन उत्पादन आर्थिक रूपमा सम्भव छ वा छैन भन्ने विषयमा संयुक्त अध्ययन गर्नेछन्।













