सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तान
काठमाडौँ — सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको छ ।
सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए । केन्या भ्रमणमा केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका थिए ।
तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहितले नेपालको कप्तानी गर्दै आएका थिए । फेब्रुअरीमा भारतमा भएको ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको ट्वान्टी–२० कप्तान बनाइएको थियो ।
दीपेन्द्र ट्वान्टी–२० को कप्तानमा यथावत् रहने छन् भने सन्दीपले एकदिवसीयमा नेपालको नेतृत्व गर्नेछन् । सन्दीप २०२२ मै यसअघि पहिलो पटक कप्तान बनेका थिए र उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा १४ खेलमा ४ खेल मात्र जितेको थियो । नेपालमा त्यसमा ९ खेलमा पराजित भएको थियो भने एक खेल ‘टाई’ भएको थियो ।













