लिग २ क्रिकेट : नेदरल्यान्डस्स र नामिबियासंग लगातार नेपाल दोस्रो हार
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ क्रोस ३४ रनमा अविजित रहे । सेड्रिक डे लाङ र जाच लायन कासेटले समान २१ रन बनाए । नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-२ विकेट लिए । एक विकेट रनआउटमार्फत आयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो ।
आजको खेलमा आरिफ शेखले ९० बल खेलेर सर्वाधिक ४१ रन बनाए । गुल्शन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन बनाए । नेदरल्यान्ड्सका लागि रोलफ भान डर मर्वेले ६.४ ओभरमा १५ रन मात्र दिएर ३ विकेट लिए । एलेक्स रोयले ८ ओभरमा २४ रन दिएर ३ विकेट लिए । लोगान भान बिकले २ तथा काइल क्लेइनले १ विकेट लिए ।
यो जितपछि लिग २ अंकतालिकामा नेदरल्यान्ड्सको २९ खेलमा ३४ अंक भएको छ । नेपालको ३० खेलबाट २४ अंक छ । नेपालले अब शृङ्खलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्ने छ । त्यसअघि शनिबार नेदरल्यान्ड्स र नामिबिया खेल्ने छन् ।













