प्रधानमन्त्रीसँग मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल
काठमाडौं – मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन् । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन् ।
बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोले एकजना कांग्रेसबाट र अरु सबै रास्वपाबाटै निर्वाचित हुन् । १२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए । बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।
बैठकको सुरुवातमा छलफलको उद्धेश्यबारे प्रधानमन्त्री कार्यालयका असिम शाहले छोटो ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री बालेन शाह बैठक तोकिएको समयमा बैठकमा प्रवेश गरे । ‘बजेटअघि सर्ट टर्ममा गर्न सकिने र अत्यावश्यक कामहरू के–के हुन्, तपाईंहरूले आफ्नो सुझाव राख्नुहोस्,’ सांसदहरुसँग बालेनले भने ।
छलफलमा सहभागी सांसदहरुका अनुसार, बालेनले करिब डेढ मिनेट बजेटअघि आफूले सांसदहरुलाई त्यसमा समेट्नुपर्ने विषयबारे बुझ्न खोजेको बताएपछि सांसदहरुले क्रमश: आफ्नो भनाई राख्न थाले । छलफलमा सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका समस्याहरू राखेका थिए ।
अधिकांश सांसदले दोहोर्याएर उठाएका मुख्य मुद्दाहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सडक–पुल जस्ता पूर्वाधार निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या र कोभिडकालमा बन्द गरिएका साना भन्सार (छोटी भन्सार) पुन: खोल्ने तथा सीमा व्यवस्थापनका विषय थिए ।
मिटरब्याज पीडितहरूको समस्या, ऐलानी जग्गा तथा मन्दिररपर्ती जग्गा सम्बन्धी विषय मधेशका सांसदले उठाएका थिए । साथै विकास निर्माणसँग सम्बन्धित हुलाकी राजमार्गको बिषय पनि छलफलमा उठेको थियो । सिडिओ, मालपोतजस्ता कार्यालयमा नागरिकले भोग्नुपरेको सास्ती, प्रदेशस्तरका ठूला भ्रष्टाचारका फाइलहरू छानबिन गर्नुपर्ने माग पनि बैठकमा उठेको थियो ।












