"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप क्रिकेट लिग-२ : गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

प्रकाशित मिति :  5 May, 2026 4:49 pm


काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएई र ओमान सहभागी त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेल जितेको छ।

मंगलबार ओमानलाई ८१ रनले पराजित गर्दै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले यूएईविरुद्ध दुवै खेल जितेको थियो भने ओमानसँगको पहिलो खेलमा पराजित भएको थियो। नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए।

नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए जुन उनको एकदिवसीय करिअरकै उत्कृष्ट प्रदर्शन हो। सन्दीप लामिछानेले ८.५ ओभरमा २ मेडनसहित ३० रन दिएर १ विकेट लिए। करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छँदै २५६ रनमा अलआउट भयो। नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ७ चौका र ५ छक्कासहित ९४ रन बनाउँदै शतकबाट ६ रनले चुके। अर्का ओपनर विनोद भण्डारी भने खाता खोल्न नसकी आउट भए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ८७ बलमा ४ चौकासहित ४८ रन जोडे। कप्तान रोहितकुमार पौडेलले १६ बलमा ९ रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन योगदान दिए। आरिफ शेखले आक्रामक इनिङ्स खेल्दै २४ बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए जसमा अन्तिम ओभरमा लगातार तीन छक्का पनि समावेश थियो। अन्य खेलाडीमध्ये गुल्सन झाले १७ रन बनाए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछाने क्रमशः ०, २ र १ रनमा आउट भए।

ओमानका नदीम खानले ३ विकेट लिए भने सकील अहमद र हसनइन शाहले २-२ विकेट लिए। अंक तालिकामा ओमान २८ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ। सातौं स्थानमा रहेको नेपालको २४ खेलबाट १८ अंक पुगेको छ भने पुछारमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ। नेपालले यस पटक लिग-२ सिरिजमा तीन खेल जितेको यो पहिलो पटक हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा