चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा : वाम एकताको सन्देश
काठमाडौँ – चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन।
आइतबार एउटै मञ्चमा उभिएका प्रमुख वाम नेताहरूको अभिव्यक्तिमा एउटा साझा स्वर सुनियो- आत्मसमीक्षा, परिवर्तन र वाम एकता। तर यिनै अभिव्यक्तिले अर्को प्रश्न पनि जन्माएको छ-के उनीहरूले जनताले दिएको पछिल्लो जनादेश बुझेका छन् वा यो सत्ता गुमेपछि देखिएको नयाँ राजनीतिक भाषा मात्र हो?
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हामी मरेका छैनौँ, फेरि उठ्छौँ’ भन्दै प्रतिक्रियावादी शक्तिलाई परास्त गर्ने उद्घोष गरे। उनले भने, ‘आज हामी यतिबेला समाजवाद निर्माण गर्ने ? कसरी गर्ने? यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो। प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई।’
नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी र देशभक्त शक्तिहरूलाई छिट्टै एक हुन आह्वान गरे। ‘ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डले भने।
पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपालले आत्मसमीक्षाको आवश्यकता औँल्याए। ‘हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ, या हामीमा के के विकृति आए? यसको आत्मसमीक्षा गरौँ,’ नेपालले भने, ‘यो एउटा पार्टीको मात्रै कुरा होइन। नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ।’
पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले वाम एकता भएको भए निर्वाचनको परिणाम भिन्न हुने दाबी गरे। ‘…करिब एक सय सिट वामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने थिएन। देशको परिस्थिति बेग्लै हुन्थ्यो’, खनालले भने।
उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि जनादेश स्वीकार गर्दै कम्युनिस्ट आन्दोलन समयानुकूल परिवर्तन हुनुपर्ने बताउँछिन्। उनले निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको बताइन्। भण्डारीले भनिन्, ‘एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन। तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो।’
यी सबै अभिव्यक्तिमा एउटा साझा विषय छ- आत्मसमीक्षा, परिवर्तन र एकता। तर प्रश्न उठ्छ, यी विषय अहिले मात्र किन प्रमुख बने?
विगत दुई दशकको राजनीतिक इतिहास हेर्दा यिनै नेताहरू पटकपटक सत्ता साझेदार बने, प्रधानमन्त्री बने। पार्टी विभाजन पनि यिनीहरूले नै गरे। नयाँ पार्टी बनाए। फेरि एक भए र पुनः फुटे। सत्तामा हुँदा वैचारिक मतभेदभन्दा व्यक्तित्वको टकराव बढी देखियो। नेतृत्व हस्तान्तरणभन्दा नेतृत्व जोगाउने प्रतिस्पर्धा तीव्र बन्यो। परिणामस्वरूप कम्युनिस्ट आन्दोलनभन्दा पनि कम्युनिस्ट दलहरू नै कमजोर बन्दै गए।
फागुन २१ को निर्वाचनले दिएको सन्देश स्पष्ट छ- जनताले पुराना दलहरूको निर्विवाद वर्चस्वलाई चुनौती दिएका छन्। नयाँ राजनीतिक शक्तिको उदय, स्थापित दलहरूको घट्दो जनसमर्थन र युवापुस्ताको असन्तुष्टि त्यसैका संकेत हुन्। यो पुराना कम्युनिस्ट दलहरूको सिट घटेको मात्रै होइन, राजनीतिक शैली परिवर्तन गर्नुपर्ने जनादेश पनि हो।
यही कारण अहिले पुराना नेताहरूले आत्मसमीक्षा, एकता र परिवर्तनको भाषा बोल्न थालेका छन्। तर उनीहरूको विगत हेर्दा अर्को प्रश्न पनि उठ्छ- सत्तामा हुँदा सम्भव नभएको एकता, विपक्षमा पुगेपछि मात्र किन सम्भव देखिन थाल्छ?
नेपालको राजनीतिक इतिहासले देखाएको छ- अधिकांश विभाजन विचारभन्दा नेतृत्वको प्रतिस्पर्धाबाट भएका छन्। पद बाँडफाँटमा सहमति नजुट्दा पार्टी फुटेका उदाहरण धेरै छन्। तर निर्वाचनमा जनसमर्थन घटेपछि भने त्यही नेतृत्वहरू एकताको आवश्यकता औँल्याउन थाल्छन्।
समय फेरिएको छ। आजको जनता ऐतिहासिक योगदानको आधारमा उनीहरूलाई पत्याउन तयार छैन। उसले सुशासन, पारदर्शिता, परिणाममुखी नेतृत्व, रोजगारी, सेवा प्रवाह र जवाफदेहिता खोजिरहेको छ। नयाँ पुस्ताले वैचारिक नाराभन्दा कार्यसम्पादनलाई बढी महत्त्व दिन थालेको छ।
त्यसैले पुराना नेताहरूका पछिल्ला अभिव्यक्तिको वास्तविक परीक्षण भाषणले होइन, व्यवहारले हुनेछ। आत्मसमीक्षा भाषणमा सीमित रह्यो, नेतृत्व हस्तान्तरण टरिरह्यो र पुरानै राजनीतिक संस्कार दोहोरियो भने जनताले दिएको सन्देश फेरि पनि बेवास्ता हुनेछ।
आज नेपाली राजनीतिलाई आवश्यक परेको कुरा वाम एकता वा दलगत पुनर्गठन होइन, राजनीतिक संस्कृतिको रूपान्तरण हो। जनताले पुराना नेताहरूलाई दिएको सन्देश सत्ता पुनः प्राप्त गर्ने अवसरभन्दा बढी आफूलाई बदल्ने अवसर हो। त्यो अवसर पनि गुम्यो भने इतिहासले उनीहरूलाई परिवर्तनका संवाहकभन्दा परिवर्तन रोक्ने नेतृत्वका रूपमा सम्झिने जोखिम रहनेछ।
अन्ततः लोकतन्त्रमा कुनै पनि नेता अपरिहार्य हुँदैन। निर्वाचनले दिएको सन्देश छ- नेतृत्व पुस्तान्तरण, समयानुकूल सोच, आत्मसमीक्षा र जनविश्वासको पुनर्निर्माण अब विकल्प होइन, आवश्यकता बनिसकेको छ। जनताले सम्मानपूर्वक विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने संकेत धेरैअघि नै दिएका छन्। अब त्यो सन्देश सुन्ने कि फेरि पनि पुरानै राजनीतिक चक्र दोहोर्याउने भन्ने निर्णय भने पुरानै नेतृत्वको हातमा छ।












