‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले सुकुम्वासीको उचित व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्न पनि सुझाव दिएका छन्। सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद जगत तिमिल्सिनाले नेपालको संविधान बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए। सत्तारुढल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले १८ वर्षमुनिका किशोरहरुलाई सदस्यता वितरण गरेको प्रसंग उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
विद्यार्थी युनिन खारेज गर्न लागएर कानुनले बन्देज लगाएको उमेर समूहलाई पार्टी सदस्यता वितरण गर्नु उपयुक्त नभएको उनको भनाइ थियो। सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्छ बताइन्। सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्।
सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए। बैठकमा सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गरिन्।
सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यात रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डीएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे।
- रासस













