प्रधानमन्त्रीको सम्बोधन – आपसी सद्भाव कायम राख्न अपिल गर्दै निष्पक्ष छानबिनको प्रतिबद्धता
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगन्ज, सिरहालगायत विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उत्पन्न परिस्थितिलाई अत्यन्त गम्भीर र संवेदनशील रूपमा लिएको बताएका छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरे।
उहाँले देशको कुनै एक स्थानमा भएको दुःखद् घटनाको आधारमा कुनै सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा त्यसको प्रतिशोधस्वरूप अन्य क्षेत्रमा हिंसा फैलाउनु कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले त्यसको संरक्षणमा पूर्ण प्रतिबद्धता जनाएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए। साथै, घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न आवश्यक कदम चालिएको उनले बताए।
शाहका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने तथा दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याइने उनले विश्वास दिलाए।
प्रधानमन्त्री शाहले स्थानीय तहमा विश्वासको वातावरण निर्माण गर्न तथा थप क्षति हुन नदिन सरकार निरन्तर सक्रिय रहेको उल्लेख गर्दै केन्द्रमा सर्वदलीय बैठक आयोजना गरी छलफल गरिएको र स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग संवाद भइरहेको जानकारी दिए।
उनले गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णयसमेत गरिसकिएको पनि बताए।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। उनले सरकारी निकायबाट जारी आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न सबैसँग अपिल गरे।
प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सरकार थप सतर्क र संवेदनशील रहने बताए। शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा नेपाली समाजको सदियौँदेखिको सहिष्णुता र भाइचारामा खलल पुर्याउने कुनै पनि गतिविधिविरुद्ध कडा कदम चालिने उनको चेतावनी छ।
कठिन परिस्थितिमा पनि नेपाली समाजको एकता, सहिष्णुता र विवेक नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गरी सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले मैथिली भाषामासमेत राष्ट्रिय एकता, शान्ति, सद्भाव र भाइचारा कायम राख्न आमनागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज र सञ्चारमाध्यमसँग संयमता अपनाउन अपिल गरेका छन्।













