"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अलबिदा : समाजवादी चिन्तक प्रदीप गिरि

प्रकाशित मिति :  21 August, 2022 11:58 am


काठमाडौं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरिको राति साढे ९ बजे निधन भएको हो । समाजवादी चिन्तकका रूपमा परिचित गिरि चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न थिए ।

स्वास्थ्य अवस्था स्थिर बनेपछि गिरिलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटीमा डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले उनको उपचार गरिरहेको थियो । गिरिको निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएको थियो । 

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि गिरिलाई तीन साताअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनको निधनप्रति राजनीति नेतृत्वले दुःख व्यक्त गरेको छ । 

कांग्रेसले विज्ञप्ति निकालेर उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मित्रलाल र पुण्यप्रभाका छोरा गिरिका श्रीमती र एक छोरा छन् । उनी सिराहा १ बाट प्रतिनिधिसभा सदस्य हुन् । स्थायी ठेगना बस्तीपुर सिराहा रहेका गिरि हाल भीमसेनगोला काठमाडौंमा बस्दै आएका थिए ।

आइतबार ९–११ बजेसम्म पार्थिव शरीर अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने, ११ः३० देखि २ बजेसम्म पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताले अस्पताल पुगेरै गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । 

उनको अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि थियो । उनले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेलजीवन बिताएका थिए । उनमा दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता थियो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

०१७ को घटनाक्रमपछि राजनीतिमा सक्रिय उनी ०२४ मा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए । ०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित गिरि संविधानसभा सदस्य निर्वाचन, ०६४ मा कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए । 

दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् चयन भएका थिए भने संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा सिराहा १ बाट निर्वाचित बनेका थिए । उनी प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी