"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै

प्रकाशित मिति :  19 September, 2022 1:03 pm


एजेन्सी ।बेलायतकी दिवंगत महारानी एलिजावेथ  द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ ।

अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्षनेता तथा विशिष्ट व्यक्तिको उपस्थिति हुने अपेक्षा गरिएको छ । तीमध्ये करिब पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरू हुनेछन् ।

विभिन्न देशबाट आएका पाहुनाहरूका लागि बेलायतका नयाँ राजा चार्ल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नुभएको थियो । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायतभरि राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो ।

विभिन्न देशका पाहुनाहरू र बेलायती बासिन्दासहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भीड लागेको थियो । 

बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिने क्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ ।

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा राजा चार्ल्ससहित राजपरिवारका अन्य सदस्यहरू वरीयताक्रम अनुसार लामबद्ध भइ हिँड्नुहुनेछ ।

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउनेछन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ ।

शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउँसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधिस्थ गराइनेछ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् ।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । 

  • रासस/एएनआई



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा