"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निरन्तरको बर्षाले अधिकाशं राजमार्ग अवरुद्ध हुदा यात्रु अलपत्र

प्रकाशित मिति :  6 October, 2022 12:06 pm


भरतपुर । नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण अहिले सो सडक अवरुद्ध छ । अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गको १७ किलो, २१ किलोलगायतका विभिन्न स्थानमा लेदो माटोसहितको पहिरो झरिरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर राजीव मानन्धरले जानकारी दिए ।

वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको छ । लेदोमाटो सहितको पहिरो अहिले पनि झरिरहेको छ । पहिरोका कारण दशैँका बेला टीका थाप्न हिँडेका यात्रुहरू अहिले बीच सडकमै अलपत्रमा परेका छन् । पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिन छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सडक कार्यालयसँग समन्वय गरेर सडक खुला गर्ने प्रयास भइरहेको बताए ।

२१ किलोको पहिरो हटाई सकिएको र १७ किलोको पहिरो पनि खुला गर्ने प्रयास भइरहँदा ठूलो वर्षाले समस्या परेको पनि बताए ।

अहिले राजमार्गमा पहिरो पन्छाउन लोडर, स्क्याभेटरलगायतका उपकरण परिचालन गरिएका छन् ।

काठमाडौँ उपत्यका पनि समस्या

वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ ।

पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए ।

दशैंका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् ।

जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्‍याउन नपाएको गुनासो गरे ।

पाल्पा–गुल्मी सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।  पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका- २ जोर्तेमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

जोर्ते बजारमाथि सडक चौडा गरेको स्थानमा ठूलो पहिरो गएको स्थानीय स्थानेश्वर गैरेले बताए । सडक डिभिजनको एक्स्काभेटरले अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसोसम्ममा बाटो खुल्ने सम्भावना छ।

सडक अवरुद्ध हुँदा बुटवलतर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारीसाधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारीसाधन बाटोमै रोकिएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी