"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा क्षेत्र नं. २ : उपसभापति धनराज र सचिव पद्माको हेविबेट प्रतिस्पर्धा

प्रकाशित मिति :  20 October, 2022 4:05 pm


स्याङ्जा । मंसिर ४ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ। गुरूङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेका छन् भने पद्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

२०७४ मा तत्कालीन एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो। स्याङ्जा-२ मा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई हराएर त्यसबेला पद्माले चुनाव जितेकी थिइन्। गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याउँदा पद्माले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन्। २०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र यसपालि नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा सामेल छ।

स्याङ्जा क्षेत्र नम्बर २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ भने भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ वडा तथा कालिगण्डकी गाउँपालिका पर्छन्। गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा नेपाली कांग्रेस अगाडि छ।

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले मत ३६ हजार ८ सय ६ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ। नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४ सय ४७ मत ल्याएका छन्। राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएका छन्।

स्याङ्जा-२ मा नेकपा (एकीकृत समाजवादी) को मत खासै छैन। सत्ता गठबन्धनमा रहेका कांग्रेस-माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ भने यहाँ अर्को मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ। सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा चार हजार बढी मतान्तर देखिन्छ।सत्ता गठबन्धनका उम्मेदवार धनराज र एमाले उम्मेदवार पद्माले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन्। उनीहरू चुनावी प्रचारका कार्यक्रमहरू गरिरहेका छन्।

धनराज निष्ठा र नैतिकताको राजनीति आफूले गर्न चाहेको र भ्रष्टचार गर्नेहरूलाई जनताले मत दिन नहुने बताउने गर्छन्। ‘व्यवस्था बदल्यौं तर जनताको अवस्था बदलिएको छैन यसको कारण भ्रष्टाचारी प्रवृत्ति हो,’ गुरूङ भन्छन्, ‘गाउँमा उत्पादनलाई प्राथमिकता दिने र बजारिकरणमा सरकारले सहयोग गर्ने हो भने पूँजी निर्माण हुन्छ।’ उनले भ्रष्ट प्रवृत्ति बदल्नुपर्ने र गरिबी हटाउनु पर्नेमा जोड दिँदै आएका छन्।

एमाले उम्मेदवार पद्माले आफू भूमि मन्त्री हुँदा जारी गरिएको  लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्साअनुसार भूमि फिर्ता ल्याउन एमालेको सरकार बन्नुपर्ने बताउने गरेकी छन्। उनले चुनावी भाषणमा ‘चुच्चे नक्सा’का कुरा प्राथमिकताका साथ उठाउने गरेकी छन्।

स्याङ्जामा यसअघि चुनाव जितेकी र केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था मन्त्रीसमेत भएकी पद्मा र पहिलो पटक चुनाव लड्न लागेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उपसभापति धनराजबीचको प्रतिस्पर्धालाई स्याङ्जाका बासिन्दाले पनि चासोसाथ हेरेका छन्।

  • स्थलगत अध्ययन र अनलाईन पत्रपत्रिकाहरुको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको