"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं–१ मा नयाँ र पुरानाविचको रोचक चुनावी भिडन्त

प्रकाशित मिति :  ९ कार्तिक २०७९, बुधबार १४:४२


काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभामा सदस्यका लागि चौथो पटक प्रतिस्पर्धामा छन् । २०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई एमाले महासचिव मदन भण्डारीले पराजित गरेपछि जहिल्यै चर्चामा रहेको यस क्षेत्रमा २०६४ देखि कांग्रेसले जित्दै आएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिंहले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८ सय १८ मतान्तरले पराजित गरेका थिए । मिश्र यसपटक भने राप्रपाकातर्फबाट सिंहसॅगै प्रतिस्पर्धामा छन् ।

गठबन्धनका उम्मेदवार सिंह विगतको स्थानीय तह निर्वाचनको मतका आधारमा बलिया छैनन् । फेरि एमालेले सिंहविरुद्ध यो क्षेत्रमा आफ्ना उम्मेदवार किरण पौडेललाई निष्क्रिय बनाई मिश्रसँग तालमेल गर्न सक्ने शंका पनि त्यतिकै देखिन्छ । उक्त क्षेत्रमा राप्रपाको मतले मात्र जित्न नसक्ने आकलनमा मेलमिलाप हुन सक्ने पनि ठानिएको छ ।

‘मिश्र पार्टीका वरिष्ठ उपाध्यक्ष भएकाले उनलाई पौडेलले छाड्ने सहमति पनि हुन सक्छ,’ सोही क्षेत्रका एक राप्रपा नेताले भने । तर एमाले उम्मेदवार पौडेलले भने त्यस्तो सम्भावना नरहेको बताउँछन् । ‘एमालेले राप्रपालाई छाड्नुपर्ने कारण छैन’, पौडेलले भने, ‘मतदाताले नयाँ अनुहार चाहेकाले आफ्नो पक्षमा जनलहर छ ।’ उनले आफ्नो प्रतिस्पर्धा कांग्रेस उम्मेदवार सिंहसँग हुने बताए ।

कांग्रेस नेता सिंह संविधानसभा सदस्य निर्वाचन २०६४, २०७० र संसदीय निर्वाचन २०७४ मा लगातार तीन पटक सोही क्षेत्रबाट विजयी भएका थिए । एमालेले यो निर्वाचनमा युवा संघका अध्यक्ष पौडेललाई उम्मेदवार बनाएको छ । लगातार जीतको ह्याट्रिक गरेका सिंहलाई यस पटक भने ठूलै चुनौती छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार नै ११ जना छन् । नयाँ पार्टीका उम्मेदवारमा सामाजिक अभियन्ताको रुपमा चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका रमेश खरेललगायतका केही चर्चा पाएका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी नेपाललगायतका २१ दलले उम्मेदवारी दिएका छन् । दल र स्वतन्त्रसमेत ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

खासगरी २०७४ मा मिश्रले ल्याएको मत उनैले कायम राख्लान्/नराख्लान् ? उनले संरक्षण गर्न नसकेको मत कता जाला ? स्वतन्त्र उम्मेदवारहरूले कसको मत काट्लान् ? सिंहले ल्याएको मत यस पटक पनि उनकै पक्षमा खस्ने अवस्था छ कि छैन ? स्थानीय निर्वाचनमा वडा अध्यक्ष र नगर प्रमुख बालेन्द्र शाहले प्राप्त गरेको मतलाई मात्र आधार मान्दा चुनावी परिणामको अनुमान मिल्छ कि मिल्दैन ? यि र यस्ता प्रश्नका जवाफ सजिलो देखिँदैन । त्यसैले मुख्य प्रतिस्पर्धा क–कसको होला अनुमान गर्न नसकिने अवस्था छ । सिंहले भने कांग्रेसको नेतृत्वमा संविधान बनेकाले कार्यान्वयन गर्न पनि कांग्रेस नै चाहिने बताए । केन्द्रमा प्रभाव, क्षेत्रमा विकास भन्ने चुनावी नारा अघि सारेका सिंहले संविधानको रक्षा, सङ्घीयताको कार्यान्वयन र क्षेत्रमा बाँकी रहेका काम पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

गत निर्वाचनलाई आधार मान्ने हो भने सिंहका मुख्य प्रतिस्पर्धी मिश्र हुन् । तर उनले आफ्नो धरातल छाडेर अहिले संवैधानिक राजसंस्थाको स्थापना, धर्मनिरपेक्ष तथा संघीयताको खारेजीको मुद्दा उठाएर राप्रपाबाट उम्मेदवार बनेका छन् । गत स्थानीय तहको निर्वाचनमा राप्रपाका वडाअध्यक्षल चार वडाबाट ल्याएको मत १ हजार ३ सय ७६ हो । गत निर्वाचनमा नयाँ पार्टी, नयाँ दल र नयाँ विचार भएकाले मिश्रलाई मतदाताको मन तान्न हिजो जति सजिलो थियो अहिले त्यस्तो छैन । मिश्रको सैद्धान्तिक धार अव राप्रपाको राजनीतिक मुद्धासँग जोडिएको छ । उनको सैद्धान्तिक धरातल २०६२/२०६३ को आन्दोलनबाट प्राप्त सवै उपलब्धीका विरुद्ध रहेको छ । उनको राजनीतिक ‘लाइन’ २०४६ मा स्थापित प्रजातन्त्रमा पुगेको छ । त्यसैले पनि उनको हिजोको मत कायम नरहन सक्ने जोखिम उत्तिकै छ ।

निर्वाचका क्रममा घरदैलो गरिरहेका नयाँ दल र स्वतन्त्र उम्मेदवारले सुशासनलाई बढी जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले आफूले विगतमा सुरु गरेको कामका आधारमा मतदातबाट ‘रेस्पोन्स’ राम्रो पाएको बताउँछन् । गोविन्द केसीको मेडिकल शिक्षा, बालुवाटार जग्गा फिर्ता, कोभिडको औषधि खरिदमा भएको अनियमिततालगायतका मुद्धा उठाएर पहिचान बनाएका बमले सुशासनलाई प्राथमिकता दिएका छन् । भन्छन्, ‘हामी परिवर्तनका लागि राजनीतिमा आएका हौं । छलछाम गरेर जनतालाई धोका दिॅदैनौं ।’

सुशासन पार्टीका अध्यक्ष एवं उम्मेदवार खरेलले विगतमा आफूले गरेको काम हेरेर मुल्यांकन गर्न भनेका छन् । उनले मुख्यतः राष्ट्रियता, सुशासन र इमानदारितालाई प्राथमिकता दिएका छन् ।

२०६४ देखि कसको मत कति ?

कांग्रेसका सिंह २०६४ को संविधानसभा निर्वाचनमा १४ हजार ३ सय १८ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदिप नेपालले ६ हजार ७ सय ८९ र माओवादीका राममान श्रेष्ठले ४ हजार ८ सय ३६ मत ल्याएका थिए । सिंहले दोस्रो संविधानसभा २०७० मा १५ हजार १ सय ३८ मत ल्याउँदा एमालेकी राधा ज्ञवालीले ३ हजार ५ सय १ मत र माओवादीकी रेणु दाहालले ४ हजार ६४ मत ल्याएकी थिइन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिंह १० हजार ९ सय ३६ मत पाएर विजयी भएका थिए ।

२०७४ मा सबै दलका उम्मेदवारको मत घटेको देखिन्छ भने त्यसताका नयाँ अनुहारको रूपमा उदाएका तत्कालीन विवेकशील साझाका मिश्रले भने १० हजार १ सय १८ मत ल्याएका थिए ।

स्थानीय निर्वाचनमा स्वतन्त्रलाई मत दिनेहरूले अहिले नयाँ दल वा उम्मेदवार रोज्लान् कि भन्ने सम्भावना पनि छ । बालेन्द्र शाहले स्वतन्त्रको हैसियतमा स्थानीय निर्वाचनमा चार वडाबाट ९ हजार ६ सय ७४ मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा सिंह पत्नी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५ सय १६ र एमालेका केशव स्थापितले ४ हजार ७ सय ७४ मत पाएका थिए । त्यतिबेला शाहलाई रोज्नेहरूको मत अहिले कसलाई जान्छ त्यो नै हारजितका लागि निर्णायक हुने देखिन्छ ।

यस क्षेत्रको चार वडामध्ये तीन कांग्रेसले र एक एमालेले जितेको छ । स्थानीय निर्वाचनमा चारै वडाबाट अध्यक्षले पाएको कुल मतमध्ये कांग्रेसको ९ हजार ८ सय ९५ र एमालेले ९ हजार ५ सय ४१ छ । यसका आधारमा कांग्रेस ३ सय ५३ मतले मात्र अघि छ । वडा ३१ मा कांग्रेसभन्दा एमालेले झन्डै १८ सय मत ल्याएको थियो । स्थानीय निर्वाचनमा राप्रपाको मत १ हजार ३ सय ७६ रहेको छ ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत