निवर्तमान ६० सांसद पराजित, ४३ नयाँ अनुहार चयन
काठमाडौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दा बढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। संसदीय राजनीतिमा लामो समयको अनुभव भएतापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ।
संसद्मा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्व-मुख्यमन्त्री समेत छन्।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य अनिलकुमार झा तथा गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि निर्वाचनमा पराजित भए।
पूर्व-सभामुख ओनसरी घर्ती, पूर्व-उपसभामुख पुष्पा भुसाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका लागि पनि यसपटकको निर्वाचन फलदायी हुन सकेन। अघिल्लो प्रतिनिधिसभा सदस्य अञ्जना विशङ्खे, अभिषेकप्रताप शाह, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी, गङ्गा चौधरी (सत्गौवा), घनश्याम भुसाल, चक्रपाणी खनाल, चित्रलेखा यादव, झपटबहादुर रावललाई निर्वाचन परिणामले निरासा तुल्यायो।
निवर्तमान सांसद देवेन्द्रराज कँडेल नवराज सिलवाल, निरुदेवी पाल, प्रमोद साह, बृजेशकुमार गुप्ता, भरतकुमार शाह, भानुभक्त ढकाल, भीमसेनदास प्रधान, भूमिप्रसाद त्रिपाठी र महेश्वर बस्नेतका लागि निर्वाचन फलामको च्यूरा बन्यो।
अघिल्लो प्रतिनिधिसभामा रहेका मातृकाप्रसाद यादव, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रामवीर मानन्धरलाई पनि निर्वाचन कष्टप्रद रह्यो। जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलाई पनि यस निर्वाचनले सदन प्रवेशमा धक्का लगाएको छ।
पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, लालबाबु पण्डित, सुजाता कोइराला, लेखराज भट्ट, विजयकुमार गच्छदार, बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ तथा पूर्वसांसदहरू विजय सुब्बा, विशाल भट्टराई सूर्यप्रसाद पाठक र कोमल वलीका लागि पनि यो निर्वाचन बाधक रहन पुग्यो।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रतिनिधिसभातर्फ हालसम्म एक सय ५६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कांग्रेसले ५३ स्थानमा जित निकाल्दै आफ्नो अग्रता कायम राखेको छ।
एमाले ४१, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी सात, जसपा छ, स्वतन्त्र पाँच, लोसपा पाँच र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएको छ।
४३ नयाँ अनुहार चयन
प्रतिनिधि सभामा हालसम्म सार्वजनिक परिणामअनुसार ४३ जना नयाँ अनुहार चयन भएका छन्। नेपाली कांग्रेसबाट १२ जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीका ७, माओवादी र राप्रपाबाट,३-३ जना चयन भएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएकाहरूबाट ३ जना र जसपा र जनमत पार्टीका, १-१ गरी ४३ नयाँ अनुहार चयन भएका हुन्।
नेपाली कांग्रेसबाट निर्वाचित हुने नयाँ अनुहारमध्ये भक्तपुर २ का दुर्लभ थापा पनि हुन्। उनले २४ हजार २ सय ३८ मत ल्याएका छन्। झापा १ बाट निर्वाचित कांग्रेस महामन्त्री विश्वकप्रकाश शर्मा पनि पहिलो पटक संसदमा चयन भएका हुन्। उनी ३९ हजार ६ सय २४ मत सहित निर्वाचित भए। काठमाडौं ५ बाट प्रदीप पौडेल १५ हजार २ सय ३७ मत सहित विजयी भए। यता गोरखा १ मा ३३ हजार ४ सय २८ मतसहित निर्वाचित भएका राजेन्द्र बजगाईं पनि पहिलो पटक सांसद चयन भएका हुन्। नवलपुर-२ मा ३६ हजार १ सय ४ मत ल्याएका विष्णुकुमार कार्की पनि नयाँ हुन्। यस्तै, म्याग्दीमा २४ हजार २१ मत सहित निर्वाचित खम्मबहादुर गर्बुजा पनि पहिलो पटक संसद छिर्दैछन्।
सिन्धुली १ बाट निर्वाचित श्यामकुमार घिमिरे पनि पहिलो पटक संसद छिर्ने लागेका छन्। उनले ३० हजार ३९१ मत ल्याए। यस्तै सप्तरी ३ मा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका दिनेशकुमार यादव पनि नयाँ अनुहार हुन्। दैलेख २ का दिक्पालकुमार शाहले २० हजार १ सय ५८ मत ल्याएर संसदको पहिलो यात्रा सुनश्चित गरे। अछाम २ मा पुष्प शाह २३ हजार ५४ मत ल्याएर पहिलो पकट सांसदमा चयन भएका छन्। मुस्ताङका योगेश गौचन थकाली कांग्रेसका सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी ३ हजार ९९२ मत सहित निर्वाचित भएका हुन्। यता काठमाडौं ३ बाट पहिलो पटक सांसद चयन भएका सन्तोष चालिसेले १४ हजार ३ सय ५८ मत ल्याए।
नेकपा एमालेबाट १० जना नयाँ अनुहार चयन भएका छन्। तीमध्ये मकवानपुर २ बाट ३४ हजार ९१६ मतसहित निर्वाचिन हुने महेश बर्तौला, कञ्चनपुर १ बाट २० हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुने तारा लामा तामाङ छन्। यस्तै, कास्की ३ बाट २२ हजार ९ सय ८० मतसहित निर्वाचित दामोदर पौडेल पनि पहिलो पटक सांसद बनेका हुन्। एमालेबाट पहिलो पटक सांसद बन्ने सूचीमा बाँके १ का सूर्यप्रसाद ढकाल पनि छन्। उनले २५ हजार २६ मत ल्याएका छन्। यता, सिराहा १ का रामशंकर यादव पनि पहिलो पटक सांसद चयन भएका हुन्। उनले २९ हजार ४ सय ४२ मत ल्याएका छन्।
एमालेका नयाँ अनुहारमा सोलुखुम्बुबाट १९ हजार ३ सय २४ मत ल्याएर निर्वाचित हुने मानवीर राई पनि छन्। यस्तै, रूपन्देही-५ बाट ३६ हजार ८८२ मत ल्याएर निर्वाचित बासुदेव घिमिरे पनि पहिलो पटक सांसद बनेका हुन्। प्युठानबाट ४१ हजार १८ मत ल्याएर सूर्य थापा पहिलो पटक सांसद बनेका छन् भने पर्सा ३ का राजकुमार गुप्ता २४ हजार २ सय ६० मतसहित पहिलो पटक सांसद चयन भएका छन्। यो सूचीमा ललितपुर-२ का प्रेमलाल महर्जन पनि छन्। उनले १५ हजार २५ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सात जना पहिलो पटक संसदमा आएका हुन्। सभापति रवि लामिछाने चितवन २ बाट ४९२६४ मतसहित निर्वाचित भए। यस्तै, चितवन १ बाट निर्वाचित हरि ढकालले ३४ हजार १ सय ८९ मत ल्याए भने काठमाडौं २ बाट सोविता गौतम १५ हजार २२९ मतसहित निर्वाचित भइन्।
यता, काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मत ल्याएर पहिलो पटक सांसद बने भने काठमाडौं ७ बाट ८ हजार ७ सय ४३ मत ल्याउने गणेश पराजुली पनि यो सूचीमा छन्। यस्तै काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर निर्वाचित हुँदै पहिलो पटक संसद छिर्दैछन्। यता ललितपुर-३ की तोसिमा कार्की पनि यो सूचीमा अटाएकी छिन्। कार्की ३१ हजार १ सय ३६ मतसहित निर्वाचित भएकी हुन्।
माओवादी केन्द्रबाट पहिलो पटक सांसद बन्ने सूचीमा सिन्धुली-२ का लेखनाथ दाहाल छन्। उनी २७ हजार ५ सय १७ मतसहित निर्वाचित भएका हुन्। यस्तै सिन्धुपाल्चोक १ बाट ३० हजार ३ सय ४७ मत ल्याएका माधव सापकोटा पनि पहिलो पटक संसद छिर्ने व्यक्ति हुन्। यता, १२ हजार २ सय ६२ मत सहित निर्वाचित भएका पूर्णबहादुर घर्तीमगर पनि माओवादी केन्द्रबाट पहिलोपटक प्रतिनिधि सभामा चयन भएका व्यक्ति हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि तीन जना पहिलोपटक प्रतिनिधि सभामा चयन भएका छन्। बाँके-२ बाट २९ हजार ५ सय ७७ मतसहित निर्वाचित धवलशमशेर राणा, ३४ हजार ९ सय ५९ मतसहित नवलपुर २ बाट निर्वाचित ध्रुव प्रधान पहिलो पटक सांसद चयन भएका हुन्। यो सूचीमा मकवानपुर-१ का दीपककुमार सिंह पनि छन्। उनले २७ हजार ८ सय १६ मत ल्याए।
नागरिक उन्मुक्ति पार्टीबाट २ जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। कैलालीका १ र ३ बाट दुई जना निर्वाचित भएका छन्। कैलाली १ बाट ३० हजार १ सय ४ सहित रञ्जिता श्रेष्ठ निर्वाचित भइन् भने कैलाली-३ बाट गंगाराम चौधरी २३ हजार १ सय २० मतसहित सांसद चयन भए।
जनमत पार्टीका अध्यक्ष सिके राउन सप्तरी २ बाट निर्वाचित भएर पहिलो पटक संसद प्रवेश गर्दैछन्। उनले ३५ हजार ४२ मत ल्याए। यस्तै, सर्लाही १ मा जनता समाजवादी पार्टीबाट २४ हजार ८ सय ३८ मत सहित निर्वाचित रामप्रकाश चौधरी पनि प्रतिनिधि सभाका नयाँ अनुहार हुन्।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना पनि पहिलो पटक सांसद भएका छन्। बर्दिया-२ का लालवीर चौधरी २६ हजार ५ सय २० मत सहित पहिलो पटक निर्वाचित भएका हुन्। यता, रौतहट-२ का कुमार साह पनि ३२ हजार ८ सय ४३ मत सहित सांसद बने। यस्तै, २१ हजार ८ सय २० सहित मोरङ ५ बाट निर्वाचित योगेन्द्र मण्डल पनि पहिलो पटक सांसद बनेका हुन्।
- रासस