"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वाणिज्य बैङ्कमा ‘मर्जर’को लहर

प्रकाशित मिति :  8 January, 2023 10:58 am


काठमाडौँ । कुमारी बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क एक आपसमा गाभिएर आइतबारदेखि ‘कुमारी बैङ्क लिमिटेड’को नामबाट कारोबार सञ्चालनमा आएको छ ।

दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था ‘मर्ज’ गरिसकेको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आगामी सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुँदैछ । प्रभु बैङ्कले सेन्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मङ्गलबारदेखि ‘प्रभु बैङ्क लिमिटेड’ का नामबाट हुँदैछ ।

यस्तै बुधबारदेखि नै नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपाल मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । हिमालयन बैङ्क र सिभिल बैङ्क पनि आगामी माघदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

पुस महिनामा मात्रै पाँचवटा वाणिज्य बैङ्कको सङ्ख्या घट्ने भएको छ । कुनै बेला ३२ सम्म पुगेको वाणिज्य बैङ्कको सङ्ख्या अब भने २१ मा सीमित हुने भएको छ । 

लामो समयसम्म २७ वटा रहेका वाणिज्य बैङ्कको सङ्ख्या नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले गत असार २८ देखि एकीकृत कारोबार सुरु गरेपछि वाणिज्य बैङ्कको सङ्ख्या २६ वटामा झरेको थियो ।

१५ वटा नै पर्याप्त 

राष्ट्र बैङ्कको एक अध्ययनले नेपालमा वाणिज्य बैङ्कको सङ्ख्या बढी भएको तथा बढीमा १५ वटा वाणिज्य बैङ्कमात्र मुलुकमा आवश्यक भएको देखाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन मर्जर तथा एक्विजिसनमा जान सो अध्ययनले सुझाएको छ । साथै प्रतिस्पर्धा नहुनेमा चनाखो बन्न पनि सुझाव दिएको छ ।

अध्ययनमा सहभागी विज्ञले मर्जरले बैङ्क तथा वित्तीय संस्थाको स्वामित्व सीमित व्यावसायिक समूहको नियन्त्रणमा पुग्ने भन्दै आम सर्वसाधारणले सुविधा नपाउने खतरा औँल्याएका छन् ।

गाभ्न र गाभिन प्रोत्साहन

बैङ्क तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न÷गाभिन प्रोत्साहित गर्ने राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०७३ कार्यान्वयनमा आएपछि गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)को कार्यले गति लिएको छ । २०७९ असार मसान्तसम्म कुल २४७ वटा बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिएर ६८ वटा संस्था कायम भएका छन् । उक्त अवधिमा भएका गाभ्ने/गाभिने तथा प्राप्तिका कुल आठवटा कार्यमध्ये गाभ्ने/गाभिने (मर्जर)तर्फ तीन र प्राप्ति (एक्विजिसन)तर्फ पाँचवटा कार्य सम्पन्न भएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले चालू आर्थिक वर्षदेखि मर्जरमा जाने बैङ्कलाई सहुलियत नदिने बताएपछि असारयता नै आधा दर्जन बढी बैङ्कले मर्जरमा जाने सम्झौता गरेका थिए । राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुससम्म एकीकृत कारोबार गर्ने बैङ्कले मात्रै नियामकीय सुविधा पाउने बताएको छ । यसले गर्दा उनीहरूलाई चाँडै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थाल्न दबाब बढेको छ ।

ठूलो बैङ्क बन्दै ग्लोबल आईएमई

दुई दर्जन बैङ्क तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको ग्लोबल आईएमई बैङ्क पछिल्लो समय बैङ्क अफ काठमाण्डूसँग ‘मर्ज’ भएपछि मुलुककै ठूलो वाणिज्य बैङ्क बन्दैछ । ‘मर्जर’पश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ, चुक्तापुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको छ । 

२१ वटा बैङ्क तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आईएमई बीओके लिमिटेडमा पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।

साथै, दुवै बैङ्कले असोज मसान्तसम्म एक अर्ब ४७ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।

दुई बैङ्कको मर्जरपश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बीओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैङ्क हुने भएको छ ।

मर्जरपूर्व प्रभातफेरी

ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच हुने मर्जरका अवसरमा शनिबार दुवै बैङ्कले संयुक्त रूपमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा प्रभात फेरि कार्यक्रम गरेका छन् । 

काठमाडौँमा आयोजना गरिएको प्रभातफेरीमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैङ्कका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत दुई बैङ्कका एक हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै सहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्यमुख्य सहरमा पनि परिक्रमा कार्यक्रम भएको जनाइएको छ ।   

  • गोरखापत्रबाट 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।