"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार : को–को बन्दै छन् मन्त्री ?

प्रकाशित मिति :  17 January, 2023 12:06 pm


काठमाडौं । प्रतिनिधिसभाको अंकगणितलाई आधार बनाउँदै सत्तारूढ साझेदार दलहरूले मन्त्रालय बाँडफाँट टुंग्याएका छन् । बाँडफाँटबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल र सरकारलाई समर्थन गरेका अन्य दलहरूलाई पनि समेट्ने कोसिस कायम राख्न उनीहरूले टुंग्याएका केहि मन्त्रालयबारे औपचारिक जानकारी भने गराएका छन् ।

मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । नेताहरूका अनुसार त्यसअघि मन्त्रालय बाँडफाँटमा सामान्य हेरफेरको सम्भावना छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । कुन पार्टीबाट कुन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

कसलाई कति मन्त्री ?
सोमबार राति सकिएको बैठकमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी बनेको छ । जसपालाई दुईवटा मन्त्रालय प्रस्ताव गरे पनि तीनवटा मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ । मंगलबार बिहान गठबन्धनको पुनः बैठक बस्नेछ र आवश्यक परे परिमार्जनसहित मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाइनेछ ।

कसको भागमा कुन मन्त्रालय ?
बाँडफाँटअनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिने समझदारी छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ । त्यस्तै, माओवादीले प्रधानमन्त्रीबाहेक सञ्चार, संघीय मामिला र पर्यटन मन्त्रालय लिने समझदारी छ । माओवादीले भौतिक योजना मन्त्रालय लिइसकेको छ । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । जसपा र नागरिक उन्मुक्तिका लागि वन, कानुन र खानेपानी मन्त्रालय छुट्याइएको छ । 

को–को बन्दै छन् मन्त्री ?
एमाले : 

प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।

पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् । यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् । यसअघि एमालेबाट राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भएका छन् ।

माओवादी : 

नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ । तर, कुन मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ । राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी : 

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।

राप्रपा : 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ। लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन्। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री बन्ने जानकारी दिए।

साथै उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन्। सांसद विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने उनले बताए।यस्तै सांसद दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। दिउँसो १ बजे नयाँ मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी