उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम छन् भने समर्थकमा नेकप ९एमाले०का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन छन् ।
यसैगरी, कांग्रेसका सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन् ।
संसद सचिवालयले बिहीबार उपसभामुखको मनोनयन दर्ता गर्ने समय आज ९शुक्रबार० दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । उपसभामुखका लागि भोलि (शनिबार) दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ ।
यसअघि बिहीबार नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा चयन भई सपथ लिई सकेका छन् । उनले १६७ मत प्राप्त गरेका थिए । त्यस्तै, उनका प्रतिस्पर्धीमा कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने १०० मत पाएकी थिईन ।













