"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीमाथिको सजायमा रोक‚ सांसद पद पुनर्बहाली

प्रकाशित मिति :  4 August, 2023 4:13 pm


एजेन्सी । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत आग्रह गरेको छ । सर्वोच्च अदालतका एक वरिष्ठ अधिवक्तालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ‚ ‘यो कुनै एक व्यक्तिको मात्र विषय होइन; जति पनि व्यक्तिले राहुल गान्धीलाई संसद्‌मा पुर्‍याए‚ उनीहरूको अधिकार हननको विषयसमेत हो ।’

यसअघि भारतको गुजरात उच्च अदालतले मानहानी मुद्दामा कांग्रेस नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो । सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

राहुल गान्धीको पुनरावेदनमा गत मे २ मै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकको इजलासले सुनुवाइ सके पनि फैसला सुरक्षित राखेको थियो ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए । सुरत अदालतले पनि उनको पुनरावेदन खारेज गरे पनि जमानत भने दिएको थियो ।

गान्धीलाई सुनाइएको सजाय सुप्रिम कोर्टबाटै रोकिएकाले अब उनको सांसद पद पुनर्बहाली भएको छ ।

भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन