"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को गतिरोधको निकासबारे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रकाशित मिति :  20 August, 2023 12:00 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि आह्वान गरेको जानकारी दिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

प्रधानमन्त्री दाहालले शनिबार मात्रै पनि आइतबारदेखि संसद् चल्ने दाबी गरेका थिए । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । तर बैठक सन्चालन हुने वा नहुने भन्ने कुनै निश्चित छैन ।

प्रधानमन्त्री दाहालले संसद्‌मा रहेको अवरोध खुलाउनेबारे सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्न लागेका हुन् । यसअघि सत्ता गठबन्धनले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।

प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निवासमा बोलाएर छलफल गरेका थिए ।

तर एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सन्चालन हुन नदिने अडान लिँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि एमालेले १० साउन यता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई