"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोधको निकास निकाल्ने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

प्रकाशित मिति :  20 August, 2023 5:24 pm


काठमाडौँ । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अडान छोडेको छैन ।

बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानबिन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानका लागि दिन सकिने र त्यसपछि आवश्यक परे छानबिन समिति बनाउन सकिने बताएका छन् ।

बैठकमा संसद् खुलाउने विषयमा सबै दलका नेताहरू सकारात्मक भए पनि सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको बताए । ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् खुलाउने विषयलाई केन्द्रमा राखेर छलफल भएको बताए । ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ । फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन,’ नेता लामिछानेले भने, ‘आजै सहमति भएन । तर छलफल संसद् खुलाउने विषयमै केन्द्रीत छ ।’ उनले आफूहरूले जसरी पनि संसद् सुचारु रुपमा सञ्चालन हुनपर्छ भन्ने अडान राखेको बताए ।

‘जे भए पनि संसद् खुल्नुपर्छ भन्ने हाम्रो कुरा हो । संसद् खुल्यो भने गृहमन्त्रीलाई त्यहीबाट प्रश्न गर्न मिल्छ । अनुसन्धानका अरू विविध विषयहरूमा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘संसद् नै ठप्प भएपछि सबै विषयमाथिको छलफल रोकिएको छ, यो राम्रो भएन ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले १० साउनदेखि संसद् चल्न दिएको छैन । प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए, तर आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे । नेताहरूले ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएको बताएका छन् । एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी बैठकमा सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता