"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेश र स्थानीय तहका ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त

प्रकाशित मिति :  13 March, 2026 12:45 pm


काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो ।

ती रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल छैन । स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।

स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा भएको थियो । २०७९ साल मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । यसआधारमा स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल एक वर्षभन्दा बढी छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे उपनिर्वाचनबारे निर्वाचन आयोग र सरकारले निर्णय गर्ने बताउँछन् ।

‘निर्वाचन आयोग र सरकारको सल्लाह बमोजिम उपनिर्वाचनबारे निर्णय हुन्छ,’ उनी भन्छन्, ‘निर्वाचन गर्ने हुँदा आगामी चैत महिनाभित्र मिति घोषणा गरियो भने सहज हुन्छ । तर, छोटो अवधि बाँकी भएकाले के हुन्छ यसै भन्न सकिन्न ।’

काठमाडौं महानगरपालिकाको प्रमुख पद नै रिक्त छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न गएपछि रिक्त भएको हो । सुनसरीको धरान उपमहानगरपालिको प्रमुख, चितवनको भरतपुर महानगरपालिका प्रमुखको पद रिक्त छ ।

रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

काभ्रेको धुलिखेल नगरपालिका, मोरङको रंगेली नगरपालिका, इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, स्याङ्जाको कालिकण्डकी गाउँपालिका, कैलालीको टीकापुर नगरपालिको पदाधिकारी पद रिक्त रहेको छ । कतिपय वडा अध्यक्षहरूको पद पनि रिक्त छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधि उम्मेदवार बनेका थिए । त्यसमध्ये १४ जनाले चुनाव हारे । १३ जना प्रदेश सभा सदस्य कार्यकाल नसकिँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उठेका थिए । ती मध्ये पाँचजनाले मात्र चुनाव जिते ।

यी लगायत रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेपछि नयाँ सरकार बन्ने र नयाँ सरकारसँगै उपनिर्वाचनको विषयमा छलफल हुनेछ ।

आयोगका अनुसार नयाँ सरकार चैतको दोस्रो साताभित्र बनिसक्छ । एउटै दलको स्पष्ट बहुमत आएकोले निर्वाचन प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएपछि सम्बन्धित दलले संसदीय दलको नेता चयन गर्नेछ । संसदीय दलको नेता चयन भएको विषय राष्ट्रपतिले जानकारीमा पाएसँगै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ

काठमाडौँ – सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा