"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इन्टरनेट गतिमा नेपाल दक्षिण एसिया कै अग्रस्थानमा

प्रकाशित मिति :  13 March, 2026 12:21 pm


काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ओकलाले सार्वजनिक गरेको सन् २०२६ जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्‍यांक’ अनुसार, ८४.३८ एमबीपीएस औसत इन्टरनेट गतिको साथ नेपाल विश्वको ८९औँ स्थानमा पर्न सफल भएको हो । पछिल्लो तथ्यांकअनुसार इन्टरनेट गतिको वरीयतामा नेपाल करिब चार प्रतिशतले माथि उक्लिएको देखिएको छ ।

विश्वव्यापी वरीयतामा भने ४१६.१० एमबीपीएस गतिको इन्टरनेटसहित सिंगापुर शीर्ष स्थानमा कायम छ । त्यसैगरी ३८७.४१ एमबीपीएस गतिको साथ संयुक्त अरब इमिरेट्स दोस्रो र ३४८.०२ एमबीपीएसका साथ फ्रान्स तेस्रो स्थानमा रहेका छन् । ती देशहरूमा अत्याधुनिक फाइबर नेटवर्क, उच्च क्षमताको डेटा पूर्वाधार र व्यापक डिजिटल प्रयोगका कारण इन्टरनेट गति उच्च रहेको विश्लेषण गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरूबीच भने नेपालको इन्टरनेट गति सबैभन्दा तीव्र देखिएको छ । नेपालले भारत र बंगलादेश जस्ता ठूला अर्थतन्त्र भएका देशलाई समेत पछाडि पारेको छ । उपलब्ध तथ्यांकअनुसार सार्कमा नेपालपछि बंगलादेश ६४.३७ एमबीपीएस गतिको साथ विश्वको ९६औँ स्थानमा छ । भारत ६१.६७ एमबीपीएसका साथ ९८औँ स्थानमा रहेको छ ।

यसैगरी ३५.७९ एमबीपीएस गतिको साथ श्रीलंका १२६औँ स्थानमा छ । २०.३० एमबीपीएसका साथ माल्दिभ्स १३९औँ स्थानमा रहेको छ । पाकिस्तान १८.०६ एमबीपीएस गतिको साथ १४५औँ स्थानमा रहेको छ । अफगानिस्तान ४.७९ एमबीपीएस गतिको साथ १५०औँ स्थानमा पुगेको छ । सार्क सदस्य राष्ट्र भुटान भने ओकलाले सार्वजनिक गर्ने वरीयतामा समावेश गरिएको छैन ।

नेपालमा पछिल्ला वर्षमा फाइबर इन्टरनेट सेवाको तीव्र विस्तार, निजी सेवा प्रदायकबीच बढ्दो प्रतिस्पर्धा तथा डिजिटल सेवाको बढ्दो प्रयोगका कारण इन्टरनेट गति सुधार हुँदै गएको विश्लेषण गरिएको छ । अनलाइन शिक्षा, भिडियो स्ट्रिमिङ, डिजिटल कारोबार तथा दूरसञ्चार सेवाको प्रयोग बढेसँगै उच्च गतिको इन्टरनेटको माग पनि निरन्तर बढ्दै गएको छ ।

सूचना प्रविधि क्षेत्रका जानकारहरूका अनुसार, सेवा प्रदायकले फाइबर नेटवर्क विस्तार, अन्तर्राष्ट्रिय ब्यान्डविथ वृद्धि तथा डेटा केन्द्रको पूर्वाधारमा लगानी बढाउँदा इन्टरनेट सेवाको गुणस्तर सुधार हुँदै गएको हो । विशेषगरी सहरी क्षेत्रमा उच्च क्षमताको फाइबर नेटवर्क विस्तार भएपछि औसत इन्टरनेट गति उल्लेखनीय रूपमा बढेको बताइन्छ ।

ओकलाले इन्टरनेटको गति र गुणस्तर मापन गर्न विशिष्ट र वैज्ञानिक विधि अपनाउने गर्दछ । सन् २००६ देखि सेवा दिँदै आएको ओकलाको मापन मुख्यतया प्रयोगकर्ताको वास्तविक अनुभवमा आधारित हुन्छ ।

विश्वभरका लाखौँ प्रयोगकर्ताले ‘स्पिडटेस्ट’ प्रयोग गरी इन्टरनेट गति परीक्षण गर्दा प्राप्त हुने नतिजालाई यसले प्रमुख आधारका रूपमा प्रयोग गर्छ । यसले प्रयोगशालाको कृत्रिम परीक्षणभन्दा प्रयोगकर्ताले घर वा कार्यालयमा भोगिरहेको वास्तविक इन्टरनेट गति प्रतिबिम्बित गर्छ ।

ओकलासँग विश्वका विभिन्न देश र प्रमुख सहरमा आफ्नै परीक्षण सर्भरहरूको सञ्जाल रहेको छ । प्रयोगकर्ताको उपकरण र परीक्षण सर्भरबीच डेटा आदानप्रदान हुँदा लाग्ने समय, दुरी तथा नेटवर्क क्षमताको विश्लेषण गरेर इन्टरनेटको वास्तविक गति निर्धारण गरिन्छ । यसले गर्दा इन्टरनेट सेवाको सबैभन्दा यथार्थ मापन प्राप्त हुने बताइन्छ ।

ओकलाले डाउनलोड र अपलोड स्पिड मात्र नभई आधुनिक डिजिटल जीवनशैलीका लागि महत्त्वपूर्ण मानिने भिडियो स्ट्रिमिङको गुणस्तर, अनलाइन गेमिङका लागि आवश्यक ‘लेटेन्सी’ तथा भिडियो कन्फरेन्सिङको स्थिरताजस्ता सूचकहरूलाई पनि विश्लेषण गरेर विश्वव्यापी इन्टरनेट वरीयता सार्वजनिक गर्ने गर्छ ।

सूचना प्रविधि विज्ञका अनुसार, दक्षिण एसियामा नेपालले इन्टरनेट गतिको मामिलामा अग्रता लिनु डिजिटल पूर्वाधार विकासका लागि सकारात्मक संकेत मानिएको छ । आगामी वर्षहरूमा फाइबर नेटवर्क विस्तार, नयाँ प्रविधिको प्रयोग तथा डिजिटल सेवाको वृद्धि जारी रहे नेपालमा इन्टरनेटको गति र गुणस्तर अझ सुधार हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेपछि सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापक परिवर्तन गर्ने बताएका छन्। सोमबार