सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ
जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलिले शुक्रबार र साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।
खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
उनका अनुसार पल्स कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए । सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्याएका थिए ।
घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।











