भ्रष्टाचारविरूद्ध अनुसन्धानलाई रोक्न हुन्न : कांग्रेस महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, ‘फायर’ नै खोल्नुपर्ने बताएका छन्। शनिबार झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए।
‘कांग्रेसले कसैलाई निलम्बन गर्यो वा गरेन, त्यो ठूलो कुरा होइन। यस्तो हल्ला गर्नुको अर्थ पनि छैन,’ उनले भने, ‘भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ।’ नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औंल्याए। उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए।
महामन्त्री शर्माले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको पनि बताए। ‘पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो। फेरि पनि असंगत विधेयक नै ल्याइयो,’ उनले भने, ‘म पनि शिक्षकको छोरा हुँ। समस्या बुझेको छु। प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ।’













