कोशीमा २६ असोज भित्र नयाँ सरकार गठनको आह्वान
बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका थिए । त्यसको केही घन्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कोशी प्रदेशमा अन्ततः सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन्। शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन्। उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन्। यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन्।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई संविधानविद् विपिन अधिकारीले ‘हतारोको काम’ भनेका छन्। उनले अहिले नै उपधारा ५ मा जानु हतारो हुने टिप्पणी गरेका हुन्।













