"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानान्तरण, उद्धारका लागि विमान पठाउने तयारी

प्रकाशित मिति :  10 October, 2023 12:13 pm


काठमाडौं । नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्‍याइसक्यौं । रातिसम्म मेरो जानकारीमा भएअनुसार ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।’

मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन् । प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ । इजरायलको अहिलेको संकटको बेला इजरायलका स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी-हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो ।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् । विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् । नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् ।

अहिले पनि युद्धकै अवस्था भएकाले नेपालबाट जहाज पठाउन नसकिएको उनको भनाइ छ । सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

नेपालीहरुको उद्धारका लागि आवश्यक परे मित्र राष्ट्रहरुसँग पनि सहयोग माग्ने विकल्प पनि खुला राखेको प्रवक्ता लम्सालले बताइन् ।

इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई