कोशी प्रदेशमा एमालेसहितको मन्त्रिपरिषद् गठन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले सांसद रामबहादुर रानासहितको तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार इलामका कांग्रेस सांसद शम्शेर राईलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । राना पनि इलामकै हुन् । सत्तारुढ गठबन्धनले मुख्यमन्त्री कार्कीलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गर्दै एमाले बाहेकको प्रदेश मन्त्रिपरिषद् गठन हुने अपेक्षा गर्दै आएको थियो ।
संविधान धारा १६८ (५) अनुसार अनुसार कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । कांग्रेसका सांसदहरु कांग्रेस नेता शेखर कोइराला निकटका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए ।
शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए । एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको र त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको छ । उनीहरुले कार्की आफ्नो प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन गर्ने जनाएको छ ।













