"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनआरएनएको महाधिवेशन आजदेखि, अध्यक्षमा चार प्रतिस्पर्धी

प्रकाशित मिति :  17 October, 2023 10:42 am


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।

एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले हिजै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्घाटन हुनेछ भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने सङ्घले जनाएको छ ।

एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाँठ अवसरका रूपमा समेत मनाउँदै छ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैर आवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसै गरी कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो पटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

अध्यक्षमा चार प्रतिस्पर्धी

एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दै छन् । महाधिवेशनमा अध्यक्ष द्वय बद्री केसी र रविना थापा, उपाध्यक्ष द्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका एनआरएनए सचिवालयले जनाएको छ ।

महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लन्डनमा सम्पन्न गैर आवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो ।

संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ । आर्थिक लगानीसँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा