"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनआरएनएको महाधिवेशन आजदेखि, अध्यक्षमा चार प्रतिस्पर्धी

प्रकाशित मिति :  17 October, 2023 10:42 am


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।

एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले हिजै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्घाटन हुनेछ भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने सङ्घले जनाएको छ ।

एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाँठ अवसरका रूपमा समेत मनाउँदै छ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैर आवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसै गरी कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो पटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

अध्यक्षमा चार प्रतिस्पर्धी

एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दै छन् । महाधिवेशनमा अध्यक्ष द्वय बद्री केसी र रविना थापा, उपाध्यक्ष द्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका एनआरएनए सचिवालयले जनाएको छ ।

महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लन्डनमा सम्पन्न गैर आवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो ।

संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ । आर्थिक लगानीसँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।