कोशी प्रकरणमा महामन्त्रीद्वय थापा र शर्माको फरक मत
काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । निर्णय प्रक्रियामै महामन्त्रीद्वयलाई सहभागी नगराइएकाले परिस्थितिको जिम्मेवार पनि दुवै नेता हुनुपर्ने उनीहरूको भनाइ छ ।
‘निर्णयमा को–को सामेल हुनुहुन्थ्यो र किन दुर्घटना भयो भन्ने जिम्मेवारी सभापतिले लिनुपर्छ । डा. कोइरालाले कांग्रेसको भाग माओवादीलाई दिन लागेकाले खोसेको भन्ने भाष्य बनाउन खोज्नुभयो,’ महामन्त्री शर्माले भने, ‘तर, कहीँकतै पनि गठबन्धनमा यो प्रदेशमा यसको मात्रै सग्लो सरकार बन्ने भन्ने सहमति भएको छैन । जसको बने पनि आलोपालो गर्ने भन्ने थियो । तर, यो दुर्घटना हुँदै गर्दा समझदारीपूर्वक हल गर्नुपर्छ । डढेलाको रूप हुन दिनुहुँदैन, संयम र परिपक्वताका साथ हल निकाल्नुपर्छ ।’
त्यस्तै, गठबन्धन जोगाउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाले गरेको लिखितप्रति पनि महामन्त्रीद्वयले बैठकमा असन्तुष्टि जनाएका छन् । लिखित सहमतिको आवश्यकता र औचित्यमाथि उनीहरूको प्रश्न छ ।
‘चिर्कटो बनाइएकोमा हाम्रो सहमति छैन । यसमा सभापतिले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशी प्रदेशमा अरू नेताहरू पनि हुनुहुन्छ, उहाँहरूसँग किन सल्लाह गरिएन ?’ महामन्त्री शर्माले बैठकमा राखेको धारणाबारे भने ।













